अभिनेता सौगात मल्लसँग ब्रेकअप भएपछि अभिनेत्री सृष्टि श्रेष्ठले फिल्ममा काम गरेकी थिइनन् । जसले गर्दा ब्रेकअपपछि उनलाई फिल्मको प्रस्ताव आउन टुटेको समेत चर्चा भयो । तर, यो चर्चाबीच उनी क्राइम-थ्रीलर जनरामा बन्न लागेको नयाँ फिल्म ‘११ः५५’मा आबद्ध भएकी छन् । बिहीबार काठमाडौंमा ११ः५५ बजे नै एक कार्यक्रमबीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो ।
यस फिल्ममा सृष्टिको जोडी अभिनेता महेश त्रिपाठीसँग बाँधिनेछ । उनीहरुबीच पहिलोपटक सहकार्य भएको हो । सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजको पनि अभिनय रहने फिल्मलाई केशव पाण्डेले निर्देशन गर्नेछन् । यही शनिबारदेखि छायांकन सुरु हुन लागेको फिल्ममा निर्देशक पाण्डे, अभिनेता अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको छ ।
प्रद्युम्न मिश्रको छायांकन रहने फिल्मको निर्मातामा श्याम शर्मा र सरोजा शर्मा छन् भने जुनानाथ सापकोटा सह-निर्मातामा छन् । निर्देशक पाण्डे फिल्मको कथा नै स्टार रहेको दाबी गर्छन् । सृष्टिले यो फिल्मले आफ्नो करिअरलाई अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् । महेशले भने आफूले नयाँ भूमिका प्राप्त गरेकोमा खुसी व्यक्त गरे । फिल्मको कथा ६ पात्रको वरपर घुम्नेछ ।
विचित्र फिल्म्सले गुड जब आर्ट्ससँग सहकार्य गरेको फिल्ममा पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती तथा कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन रहनेछ । विभिन्न विशेषता बोकेका पात्रहरुले निम्त्याउने स-साना घटनाक्रमले सिर्जना गर्ने परिस्थितिमा केन्द्रित भएर फिल्म बन्नेछ ।