नबीन सुब्बाले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक पोस्टरमार्फत् अर्को वर्षको जेठ १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार प्रशान राई फिचरिङ छन् । एक गाडीको दृश्य समेत समेटिएको पोस्टरले बाबु-छोराको सम्बन्धलाई दर्शाएको छ ।
भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन भएको फिल्ममा दयाहाङको श्रीमतीको भूमिकामा अभिनेत्री पशुपति राई छिन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि फिल्ममा मुख्य भूमिका छ । अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् । भोजपुरको गाउँमा सडक र गाडी पुगेपछिको एउटा परिवारको कथामा आधारित भएर फिल्म बनेको छ ।
महेश राई र निर्देशक सुब्बाको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा रहेका छन् । ‘गाउँ आएको बाटो’ टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसन इन्टरनेशनल फिल्म फेस्टिभल आदिमा प्रदर्शन भैसकेको छ । निर्देशक सुब्बाले यसअघि ‘नुमाफुङ’बाट वाहवाही कमाएका थिए ।