कुनै बेला ‘जीरे खुर्सानी’ हास्य सिरियलमा ट्राफिक हवल्दार बनेर ‘नियम कडा छ’ भन्दै बोल्ने संवादकै कारण चर्चित बनेका गोपाल नेपाल ‘फिस्टे’ले विगत एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका छन् । सिरियलमा गाडी रोकेर चेकजाँच गर्ने प्रहरी बनेका उनी अमेरिकामा भने गाडीको चालक बनेका छन् । होका कदका उनी ७/८ वर्षदेखि १८ चक्के मालवाहक गाडी चलाउने गर्छन् ।
अमेरिका बस्न थालेपछि कलाकारितालाई निरन्तरता दिन नसकेका गोपाल अब फिल्म बनाउने सुरसारमा छन् । उनी आगामी वर्ष फिल्म बनाउने योजनामा थिए । तर, ज्योतिषले २०८१ साल फिल्म निर्माण गर्न शुभ नभएको बताएपछि उनी २०८२ सालमा पुगेका छन् । नेपालले एक अन्तर्वार्तामा भनेका छन्, ‘ज्योतिषको सल्लाहमा २०८२ सालमा फिल्म बनाउँदैछौं । निर्देशन आफैंले गर्नेछु ।’
गोपालसँग ‘संगालो’ सिरियल निर्देशनको अनुभव छ । फिल्म निर्देशनमा भने उनले डेब्यू गर्न लागेका हुन् । नेपाली माटो सुहाउँदो फिल्म बनाउने उनको योजना छ । त्यसका लागि उनी आगामी वर्ष पारिवारिक घुमघामका साथै कथा तयार गर्नका लागि नेपाल आउँदैछन् । उनी भन्छन्, ‘म नेपाल नगएको धेरै भैसक्यो । यसैले नेपाल गएर कस्तो विषय उठान गर्दा राम्रो हुन्छ भनेर बुझ्ने छु ।’
उनले अभिनयमा सक्रिय रहँदा ‘धन सम्पत्ति’, ‘भुतुक्कै भए नि’, ‘आँखा लोभी मन पापी’, ‘सावधान’ लगायत एक दर्जन बढी फिल्ममा पनि काम गरेका छन् । उनको अभिनय यात्रा काका जितु नेपालको साथमा ‘ट्वाक्क टुक्क’ नामक हास्य सिरियलबाट सुरु भएको थियो । उनी भविष्यमा नेपाल फर्किएर अभिनयमा सक्रिय हुने सोचमा रहेका छन् । अहिले उनको स-परिवार अमेरिकामा नै छन् ।