लक्ष्मण सुवेदीद्वारा निर्देशित तेस्रो फिल्म ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । अभिनेत्री मलिका महतलाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको पोस्टरले फिल्मको दृश्यभाषाप्रति धेरैमा कौतुहलता जगाएको छ । यसबीच, बिहीबार फिल्म सेन्सर पास भएको छ । सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी फिल्मले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ ।
२ घण्टा १५ मिनेट लम्बाईको फिल्मलाई सेन्सर पदाधिकारीहरुले मन पराएको जनाइएको छ । स्रोतका अनुसार, फिल्म सकिएको केही मिनेट सेन्सर बोर्डमा सन्नाटा छाएको थियो । सेन्सरका प्रायः पदाधिकारी गहभरी देखिएका थिए । सेन्सरको क्रममा उपस्थित ‘हिँड्दा हिँड्दै’का लेखक सुशील पंगेनीले फेसबुकमा स्टाटस लेख्दै डेढ दशकयताकै उत्कृष्ट फिल्म भनेर दाबी समेत गरेका छन् ।
लक्ष्मण सुवेदीको निर्देशन, निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्मातामा छिन् । फिल्ममा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सन्देश लिम्बू, सुजिता सिवाकोटी, मनिषा सापकोटालगायतको पनि अभिनय रहेको छ । बाबु श्रेष्ठले फिल्म छायांकन गरेका हुन् ।