मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनिता भन्छिन्, ‘जम्प’मा क्यारेक्टर निभाउन गाह्रो भयो’

फिल्मीखबर, काठमाडौं, 2023/12/09

Binita Thapamagar

 

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’बाट अभिनयमा सम्भावना देखाएकी विनिता थापामगर अभिनीत नयाँ फिल्म ‘जम्प’ यही मंसिर २९ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसमा उनले ‘हल्कारा’मा भन्दा फरक चरित्र निर्वाह गरेकी छन् । जसले गर्दा काम गर्न गाह्रो भएको उनको अनुभव छ । फिल्मको चरित्र र आफ्नो पृष्ठभूमि फरक भएकाले धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछिन् ।

विनिता भन्छिन्, ‘त्यसो त कुनै पनि क्यारेक्टर निर्वाह गर्न चुनौतीपूर्ण नै हुन्छ । चरित्रको गहिराइमा गएर काम गर्नुपर्ने हुन्छ । मलाई ‘जम्प’मा काम गर्न गाह्रै भएको थियो । किनकि, म त्यो क्यारेक्टरको पृष्ठभूमिको थिइनँ । यसैले युट्युबमा भिडियोहरु हेरेँ । र, त्यस्तै क्षेत्रमा लागेका साथीहरुलाई हेरेर फिल्ममा क्यारेक्टर निभाउने प्रयास गरेको हुँ । त्यो चरित्रमा न्याय गर्न सकेँ कि भन्ने लागेको छ ।’

त्यस्तै, निर्देशक तथा लेखक आशुतोष ध्वज कार्की फिल्म फरक कथ्य शैलीमा बनेको दाबी गर्छन् । फिल्मले दर्शकलाई बाँधेर राख्ने पनि उनको ठोकुवा छ । उनी भन्छन्, ‘फिल्मले हलमा बाँधेर राख्छ, यो मेरो ठोकुवा हो । र, निराश बनाउँदैन । फिल्मप्रति ठूलो अपेक्षा राखेर चाहिँ नआउनुहोला, त्यो भएपछि ‘इन्जोय’ गर्नुहुन्छ ।’ फिल्ममा ‘सिंक साउन्ड’को प्रयोग भएको पनि कार्कीले बताए ।

यसै हप्ता सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ पाएको फिल्मलाई १६ वर्षमुनिकाले अभिभावकको साथमा मात्रै हेर्नुपर्नेछ । फिल्ममा विनितासँगै सरोज श्रेष्ठ, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित आदिको पनि अभिनय छ । एक खेलाडीले आफ्नो जीवन परिवर्तन गर्न दैवी शक्तिको साहरा लिएपछि आउने घटनाक्रममा फिल्म आधारित छ ।