‘डेसान’ फेम्ड निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो फिल्म ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजाआजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । फिल्म सामाजिक प्रेमकथामा आधारित भएर निर्माण हुने जनाइएको छ । फिल्ममा निर्देशक मगरको कथा लेखन रहेको छ ।
‘नेभर से डाई’ ट्यागलाइन राखिएको फिल्मको पटकथा तथा संवाद आरुष जंग सारु र निर्देशक मगरले संयुक्त रुपमा लेखेका हुन् । क्रिशाला मगर कार्यकारी निर्माता रहेको फिल्मलाई चक्र बहादुर महर्जनले खिच्नेछ । परफर्मिङ आर्ट क्रियसनको ब्यानरमा बन्न लागेको फिल्ममा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकको भने टुंगो लाग्न बाँकी नै छ । आलिङ्गनको अर्थ ‘अंगालो’ भन्ने हुन्छ ।
‘डेसान’ व्यावसायिक रुपमा असफल भए पनि निर्देशक मगरको कथा भन्ने शैलीको प्रशंसा भएको थियो । उनले केही अवार्ड समेत जितेका थिए । उनको पहिलो निर्देशित फिल्म भने ‘शिरफूल’ हो । उनले केही म्यूजिक भिडियो, डकुमेन्ट्री तथा सर्ट फिल्म समेत बनाइसकेका छन् । ‘डेसान’मा भएका कमी-कमजोरीलाई सुधार गरेर ‘आलिङ्गन’लाई स्तरीय फिल्म बनाउने कमलको अठोट छ ।