अभिनेता अनमोल केसी विगत दुई सातादेखि पोखरामा फिल्म ‘फर्की फर्की’को छायांकन गरिरहेका छन् । फिल्ममा उनको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिएको छ भने सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । शनिबार छायांकनकै क्रममा एउटा रोचक भेटघाट भएको छ । अनमोल र गण्डकी प्रदेशका सांसद् तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आमने-सामने भएका हुन् ।
फिल्मका प्रडक्सन म्यानेजर शंकर पाण्डेले आफ्नो फेसबुकमा सेअर गरेको तस्वीर तथा भिडियोमा अनमोल र दीपकबीच रमाइलो कुराकानी भैरहेको देखिन्छ । उनीहरुबीच फिल्मकै विषयमा कुराकानी भएको जनाइएको छ । भेटको क्रममा दुवैले एकअर्काप्रति हार्दिकता दर्शाएका थिए । यो उनीहरुको पहिलो भेटघाट थियो । यद्यपि, दुवै एकअर्काको नाम र कामप्रति राम्रैसँग अवगत थिए ।
दीपक राजनीतिसँगै लामो समयदेखि फिल्म निर्माणमा पनि सक्रिय छन् । उनी चाँडै फिल्म ‘कङ्गारु’ बनाउँदैछन् । फिल्मका लागि मुख्य अभिनेताको खोजी भैरहेको समयमा दीपकको अनमोलसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि, उनीहरुबीच ‘कङ्गारु’को विषयमा कुराकानी भएको थिएन । फेरि मन्त्री हुने दौडधुपमा रहेका मनाङे कुनै बेला गुन्डा नाइकेका रुपमा चिनिन्थे ।
अनमोल ‘फर्की फर्की’ रिलिजभन्दा अघि नयाँ फिल्ममा काम गर्ने मनस्थितिमा छैनन् । अघिल्लो वर्ष ‘छड्के २’ डिजास्टर भएकाले यो फिल्म उनको करिअरका लागि महत्त्वपूर्ण मानिएको छ । यसपटक उनलाई बक्स अफिसको ठूलो दबाब छ । सम्भवतः अर्को वर्ष उनले होम प्रोडक्सनको तीन फिल्ममध्ये एउटामा काम गर्ने सम्भावना छ । ‘फर्की फर्की’ आगामी जेठ ११ गते प्रदर्शन हुँदैछ ।