मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनेशका कारण सम्भव भएको तीन स्टारको सहकार्य

फिल्मीखबर, काठमाडौं, 2023/12/10

केही समयअघि अभिनेत्री रेखा थापाले एक कार्यक्रममा भनेकी थिइन्, ‘अहिलेका हिरोहरु आफैं–आफैं झगडा गरेर मिस भइरहेका छन् ।’ उनको अभिव्यक्तिमा धेरै हदसम्म सत्यता छ । अभिनेता अनमोल केसी फिल्म ‘रावायण’ प्रकरणमा पक्राउ परेपछि उनका प्रतिस्पर्धी मानिएका प्रदीप खड्काले सामाजिक सञ्जाल फेसबुकमा गरेको अस्वभाविक हिसाबको कटाक्षले पनि यसको पृष्टि गर्छ ।

युवापुस्तामा राम्रो क्रेज भएका ‘स्टार नायक’हरु आ-आफैं भिडिरहँदा दयाहाङ राई, विपिन काकी, सौगात मल्लजस्ता अभिनेताहरु एकजुट भएर अघि बढिरहेका छन् । र, सफलता पनि उनीहरुलाई नै मिलिरहेको अवस्था छ । फुट्नुभन्दा जुट्नुमै भलो देखेपछि अहिलेका तीन ‘स्टार नायक’हरुबीच फिल्ममा सहकार्य भएको छ । त्यो हो, निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’ ।

फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकसाथ देखिँदैछन् । यो टिमअपलाई आफैंमा अर्थपूर्ण मानिएको छ । र, निर्देशक राउतका कारण यो सम्भव भएको हो । उनको ठाउँमा अरु कुनै निर्देशकले उनीहरुलाई एकसाथ लिने प्रयास गरेका हुन्थे भने सम्भवतः सम्भव नहुन सक्थ्यो । निर्देशक राउतप्रतिको विश्वासमा उनीहरु एकसाथ काम गर्न मञ्जुर भएका हुन् ।

 

pujar sarki


आर्यनको करिअरका लागि त दिनेश राउत जीवनदाता मानिन्छन् । त्यसो त उनीहरु संघर्षकालिन समयदेखिका साथी हुन् । ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ फिल्ममा उनीहरुबीच सहकार्य भएको थियो । यी तीनवटै फिल्म आर्यनको करिअरका लागि विशेष मानिन्छन् । अहिले उनको करिअर डगमगाएको छ । यो अवस्थामा दिनेशसँगको सहकार्य उनका लागि सुखद् हुन सक्छ ।

प्रदीपलाई त डाँडाकाँडामा नाच्ने हिरोबाट असली कलाकार बनाएका निर्देशक हुन्, दिनेश । फिल्म ‘प्रकाश’ले प्रदीपको करिअरमा नै प्रकाश छरेको छ । यो फिल्मपछि उनी निर्देशक राउतको नामकै भरमा पनि स्क्रिप्ट नपढि सम्झौता गर्न तयार हुने बताइन्छ । र, दिनेशले पनि ‘प्रकाश’पछि प्रदीपलाई काखी च्यापेर हिँडिरहेको अवस्था छ । उनीहरुको सहकार्य लामो समयसम्म जाने देखिन्छ ।

पललाई पनि निर्देशक राउतसँग काम गर्ने इच्छा पहिल्यदेखिकै हो । जेलबाट रिहा हुनसाथ उनी आफैंले आफ्नो फिल्म निर्देशनको अफर दिनेशलाई राखेका थिए । तर, त्यो फिल्म बन्न सकेन । अन्ततः ‘पूजार सार्की’मा उनीहरुको सहकार्य जुरेको छ । पललाई यो फिल्मले नयाँ पहिचान दिने विश्लेषण गरिएको छ । दर्शकलाई पनि आर्यन, प्रदीप र पललाई एकसाथ पर्दामा हेर्न रोचक हुनेछ ।

यी तीन स्टारलाई लिएर फिल्म बनाउनु निर्देशक राउतका लागि कम चुनौतीपूर्ण छैन । विषयगत रुपमा अब्बलतासँगै उनीहरुलाई समान रुपमा प्रस्तुत गर्नेपर्ने दबाब निर्देशक राउतमाथि रहन्छ । अब यसलाई उनले कसरी ‘ब्यालेन्स’ गर्नेछन्, त्यो महत्त्वपूर्ण हो । ‘प्रसाद’ र ‘प्रकाश’पछि उनको निर्देशकीय कद जति अग्लो बनेको छ, त्यसले उनलाई न कमजोर हुन न त गल्ती गर्न छुट दिन्छ ।