करिब ७ वर्षअघि राजनीतिक विषयवस्तुमा बनेको फिल्म ‘संरक्षण’बाट निर्देशनमा डेब्यू गरेका पुर्णेन्दु झाले यसपछि फिल्म ‘चौका दाउ’ बनाए । अब उनी तेस्रो फिल्मको तयारीमा जुटेका थिए । ५ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका उनले यसै हप्ता एक पोस्टरमार्फत् ‘पिजे ३’ वर्किङ टाइटल राखेर फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्म रोमान्टिक कथामा बन्ने जनाइएको छ ।
राधा र रुक्मिणी पात्रको माध्यमबाट फिल्मको कथा भनिने निर्देशक झाले बताउँछन् । उनी भन्छन्, ‘यो युवापुस्ताको प्रेमकथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई प्रेम, समर्पण र ईर्ष्याको कथा भन्न सकिन्छ ।’ आउँदो वर्ष अर्थात् सन् २०२४ मा छायांकन सुरु गर्न लागिएको फिल्मको शीर्षक भने केही दिनमा घोषणा गर्ने तयारीमा निर्देशक झा छन् ।
नेपाली र हिन्दी भाषामा बन्ने फिल्म नेपालको पुर्णेन्दु प्रोडक्सन र भारतको एक कम्पनीसँगको सहकार्यमा निर्माण हुनेछ । अघिल्ला दुई फिल्म निर्देशनको सिकाईमार्फत् प्राप्त गरेको अनुभवलाई नयाँ फिल्ममा प्रयोग गर्ने निर्देशक झाको अठोट छ । यसपटक आम दर्शकलाई मनपर्ने फिल्मी कथा तयार भएको उनले दाबी गरेका छन् । स्क्रिप्ट लेखनमै आफूले २ वर्ष खर्चिएको उनको भनाई छ ।