मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलप्रति नवीन सुब्बाको कटाक्ष- ‘फिल्म पार्टीको बनाउने हो र ?’

फिल्मीखबर, काठमाडौं, 2023/12/11

निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’मा उठाएको विषयले राजनीतिक वृतमा एकखालको हलचल ल्याएको छ । किनकि, फिल्ममा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणलाई देखाइएको छ । तर, फिल्ममा राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्ने झण्डाको रंग प्रयोग भएपछि निश्चलले रास्वपालाई फिल्म बनाएको भन्दै टिप्पणी भैरहेको छ । रास्वपा नेताहरुले भने फिल्मको प्रचार गरिरहेका छन् ।

यही मंसिर २३ गतेदेखि काठमाडौंमा भैरहेको ११औं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो दिन आइतबार ‘फिल्मको लागि राजनीतिक प्रतिबद्धता’ भन्ने शीर्षकको सेक्सनमा रास्वपाकी सांसद् विनिता कठायतले ‘दिमाग खराब’ले उठाएको विषयवस्तुको खुलेर तारिफ गरिन् । अहिले धेरैले ‘दिमाग खराब’लाई रास्वपाको फिल्म भन्ने गरेको पनि उनले उल्लेख गर्न भ्याइन् ।

उक्त सेक्सनमा जब बोल्ने पालो निर्देशक नवीन सुब्बाको आयो तब उनले निश्चलप्रति लक्षित गर्दै फिल्मले कुनै पार्टीको पक्षपोषण गर्न नहुने तर्क गरे । उनले भने, ‘कुनै पनि पार्टीको पक्षपोषण फिल्मले गर्नु हुँदैन । भर्खरै कुरा आयो, ‘दिमाग खराब’ गजब फिल्म भनेको छ भन्ने । उहाँहरुलाई अलि पक्षपोषण गरेकाले पनि गजब बनेको हो कि ? फिल्मलाई कसरी बुझ्ने भन्नेमै ठूलो समस्या छ ।’

 

nabin subba


उनले फिल्मलाई संस्कृति भन्ने तर फिल्म चाहिँ पार्टीको बनाउने गरेकोप्रति पनि आपत्ति जनाए । घुमाउरो रुपमा निश्चलप्रति कटाक्ष गर्दै उनले भने, ‘यदि फिल्म संस्कृति हो भने पार्टीको हुन्छ कि देशको ? पक्कै देशको हुन्छ । अनि, फिल्म देशको हुन्छ भने फिल्म चाहिँ पार्टीको बनाउने हो र ?’ निर्देशक सुब्बाले भारतमा भन्दा अहिले नेपालमा राम्रो फिल्म बन्न थालेको समेत दाबी गरेका छन् ।

‘म केही दिनअघि भारतमा नै थिएँ । मैले त्यहाँका मेकरलाई तिमीहरुको डेढ अर्ब जनसंख्या छ, किन यति झुर फिल्म बनाइराखेका छौ भनेर भनेको थिएँ । टोरोन्टो फिल्म फेस्टिभलमा भारतकै केही समीक्षकहरुले खुलेरै भारतको भन्दा नेपालको फिल्म राम्रो हुन्छ भनेर भनेका थिए,’ निर्देशक सुब्बा भन्छन्, ‘हामी त्यस्तो धेरै अगाडि त होइन तर इन्डियनभन्दा राम्रो फिल्म चाहिँ बनाइरहेका छौं ।’

फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत राखिएकोमा पनि उनले आपत्ति जनाए । ‘भारतले फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत हेर्छ । र, नेपालमा पनि त्यही छ । हाम्रा नेताहरु फिल्मलाई संस्कृति हो भन्ने गर्छन् । अनि, फिल्म संस्कृति हो भने सञ्चार मन्त्रालयअन्तर्गत कसरी पर्‍यो ? संस्कृति हो भने त संस्कृति मन्त्रालयमा पर्नुपर्ने हो । फिल्मले के गर्छ भन्ने कुरामा राज्य स्पष्ट हुनुपर्छ,’ सुब्बाले भने ।

फिल्म संस्कृतिअन्तर्गत गएको अवस्थामा हेर्ने दृष्टिकोणमा नै फरक पर्ने उनको बुझाई छ । ‘डेनमार्क, कोरिया, जापानले फिल्मलाई संस्कृतिअन्तर्गत राखेका छन्,’ उनी भन्छन्, ‘फिल्मलाई संस्कृति मन्त्रालयमा राख्न हामीले पहल गरिरहेका छौं । तर, सुनुवाई हुन सकेको छैन । फिल्म संस्कृतिअन्तर्गत गयो भने यसलाई हेर्ने दृष्टिकोणमा नै फरक पर्छ । कल्चरल इन्डष्ट्रीको रुपमा विकास हुन्छ ।’