यही शुक्रबार अर्थात् पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको आशुतोषध्वज कार्कीद्वारा निर्देशित फिल्म ‘जम्प’को आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा आयोजना भएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मकर्मी तथा समीक्षकले फरक शैलीको कथावाचनको प्रशंसा गर्दै फरक हिसाबले बनेका फिल्म मन पराउने दर्शकलाई विशेष रुचिकर हुनसक्ने बताएका छन् ।
प्रिमियरमा निर्देशक सुवर्ण थापा, निर्मात्री एवं निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा तथा दिब्यदेव पन्त, लेखक प्रदिप भारद्वाज लगायतको उपस्थिति थियो । उनीहरुले फिल्मको कथा भन्ने शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताए । ‘जम्प’ मनोवैज्ञानिक थ्रिलर शैलीमा कथामा आधारित छ । एउटा सफल एथ्लेटिक्स खेलाडीको कथामा फिल्म बनेको छ ।
प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले फिल्मलाई प्राप्त प्रतिक्रियाबाट आफू उत्साहित भएको बताउँदै दर्शकबाट साथ पाउने विश्वास व्यक्त गरे । प्रिमियरमा उनको निर्देशकीय प्रयासको पनि प्रशंसा भएको थियो । विज्ञापनको क्षेत्रमा ठूलो नाम बनाएका उनले अर्को वर्ष नयाँ फिल्म बनाउन लागेको पनि जानकारी दिए । ‘जम्प’लाई उनले कमर्शियलभन्दा पनि आर्ट हाउस शैलीमा बनाएका छन् ।
‘हल्कारा’ अभिनेत्री बिनिता थापा मगरको प्रमुख भूमिका रहेको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, रितेश राजकर्णिकार लगायतको पनि अभिनय छ । फिल्मले जीवनमा सफलताको खोजी गरिरहेको प्रमुख पात्रले दैवी शक्तिको सहारा लिएपछि आउने उतार-चढावको कथा भन्छ ।