‘नाईं नभन्नू ल ४’बाट एकसाथ डेब्यू गरेका पल शाह र वर्षा राउतले दोस्रोपटक फिल्ममा सहकार्य गर्ने भएका छन् । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहाराको नयाँ फिल्म ‘अवतार’मा उनीहरुको जोडी बाँधिन लागेको हो । पलले सोमबार आफ्नो इन्स्टाग्राम स्टोरीमा सेअर गरेको फिल्मको स्क्रिप्टको तस्वीरमा वर्षाको नाम पनि उल्लेख छ । र, वर्षाले पनि उक्त स्टोरी इन्स्टामा सेअर गरेकी छन् ।
‘नाईं नभन्नू ल ४’पछि पल र वर्षाको फिल्म ‘२ नम्बरी’मा सहकार्य भएको थियो । दुवैले केही प्रतिशत छायांकन समेत गरेका थिए । तर, कोरोनाका कारण जारी लकडाउनका कारण छायांकन रोकियो । पछि पल एक घटनाका कारण जेल चलान भए । यसपछि वर्षाले पनि फिल्म छाडिन् । अब ‘अवतार’मा उनीहरुको सहकार्य जुरेको छ । आगामी फागुनबाट फिल्मको छायांकन सुरु हुँदैछ ।
निर्देशक बोहोराकै लेखन रहेको फिल्मलाई विक्रम डि जोशी र हिरल जोशीले संयुक्त रुपमा निर्माण गर्नेछन् । पल र वर्षाका साथै फिल्ममा निर्माता जोशी, सलोन बस्नेत, सुशील सिटौला, बाल कलाकार एवेलिना खडकाको पनि अभिनय रहनेछ । शीर्षकले फिल्म एक्सन प्रधान हुने संकेत गर्छ । ‘अवतार’भन्दा अगाडि पलले निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’मा काम गर्नेछन् ।
जेलमुक्त भएपछि पल लगातार फिल्म गर्ने मनस्थितिमा देखिएका छन् । उनले अघिल्लो हप्ता मात्र दीवाकर भट्टराईद्वारा निर्देशित ‘मायावी’को छायांकन भ्याइसकेका छन् । त्यस्तै, सोमबार उनले अर्को एक फिल्म सम्झौता गरेको जानकारी प्राप्त छ । अरु केही मेकरहरुसँग पनि उनले निरन्तर छलफल गरिरहेका छन् । अर्को वर्ष पललाई फिल्म छायांकन र रिलिजको चटारो पर्ने देखिन्छ ।