अभिनेत्री तथा नेतृ रेखा थापा आगामी फागुनमा आमा बन्दैछिन् । तर, उनी पहिलो सन्तानलाई जन्म दिन अमेरिका पुगेकी छन् । श्रीमान् बलराम शाही ठकुरीको परिवार उतै बस्ने गरेको र त्यहीँ पहिलो सन्तान जन्माउने श्रीमानको इच्छाअनुरुप रेखा अमेरिका पुगेकी हुन् । अब उनी सन्तानको जन्मपछि नेपाल फर्किनेछिन् । सन्तान अमेरिकामा जन्मिँदा त्यहीँको नागरिक हुने प्रावधान छ ।
रेखाजस्तो नेपालमै राम्रो नाम-दाम कमाएकी अभिनेत्री सन्तान जन्माउन अमेरिका गएपछि फिल्म क्षेत्र र सामाजिक सञ्जाल दुवैतिर चर्चाको विषय बनेको छ । कतिपय पक्ष-विपक्षमा समेत उत्रिएका छन् । एकथरीले उनको राष्ट्रप्रतिको प्रेम खोक्रो रहेको भन्दै चर्को आलोचना गरिरहेका छन् । अर्काथरीले सन्तानलाई कुन देशमा जन्म दिने भन्ने कुरा नितान्त व्यक्तिगत रहेको धारणा राखेका छन् ।
यसैक्रममा, ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामाले रेखाप्रति लक्षित गर्दै आफ्नो बच्चा आफूले चाहेको ठाउँमा जन्माउन पाउनु व्यक्तिगत स्वतन्त्रता रहेको तर्क गरेका छन् । उनले मंगलबार आफ्नो फेसबुकममा स्टाटस लेख्दै भनेका छन्, ‘आफ्नो बच्चा आफूले चाहेको ठाउँमा जन्माउन पाउनु उसको व्यक्तिगत स्वतन्त्रता हो । तैँले यता जन्मा र उता जन्मा भनेर अरुले भन्न पाइँदैन ।’
कुनै कलाकारले अमेरिकामा सन्तान जन्माउँदा नेपाललाई हानी-नोक्सानी नहुने समेत उनले उल्लेख गरेका छन् । ‘कुनै कलाकारले आफ्नो बच्चा अमेरिकामा जन्माउँछिन् भने त्यसमा नेपाललाई कुनै हानी-नोक्सानी छैन । यो पृथ्वी हामी मानव जातिको साझा घर हो । जो जहाँ रमाउँछ, त्यतै रमाउन दिऔं । खोक्रो राष्ट्रवादी नबनौं,’ लामा लेख्छन् । उनको कुरामा धेरैले समर्थन जनाएका छन् ।