‘लाखे’ फेम्ड निर्देशक साम्राट बस्नेतको निर्देशन तथा दीपक मनाङ्गेको निर्माणमा बन्न लागेको फिल्म ‘कङ्गारु’मा हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’पछि अर्को मुख्य भूमिकामा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । थापा र फिल्मको निर्माण पक्षबीच मंगलबार काठमाडौंमा कागजी सम्झौता भएको हो । अर्पणले निर्देशक बस्नेतसँग यसअघि फिल्म ‘लाखे’मा पनि काम गरेका थिए ।
सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुन लागेको फिल्मका लागि अरु कलाकारसँग पनि सम्झौताको चरणमा रहेको निर्देशक बस्नेतले जानकारी दिए । फुलमुन मोसन पिक्चर्स तथा उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टले सहकार्य गरेको फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् ।
लक्ष्मी ज्वेलर्स यूकेले पनि निर्माणमा सहकार्य गरेको फिल्ममा टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्मातामा छन् । फिल्मको प्रोडक्सन डिजाइनरमा भने दीलिप पन्त रहेका छन् । फिल्ममा सीमा गुरुङको कथा लेखन तथा महेश दवाडीको पटकथा छ । निर्देशक बस्नेतले ‘कङ्गारु’मा केही फरक कथा भन्न लागेको बताउँदै दर्शकले फरक स्वाद पाउने दाबी गरेका छन् ।