बोल्ने शैलीका कारण प्रदीप खड्कालाई नेपाली फिल्मको ‘चतुर नायक’ भन्ने गरिएको छ । जुनसुकै प्रशंग र विषयमा उनी तर्कपूर्ण धारणा राख्न सक्छ । कहिले काहीँ बोलीकै कारण पनि आलोचित हुने गरेका छन् । यद्यपि, युवापुस्तामा उनको राम्रो क्रेज छ । आर्ट र कमर्शियल दुवै धारका फिल्ममा अभिनयको परीक्षा दिइसकेका उनले ‘प्रकाश’पछि त आफूप्रतिको दृष्टिकोण नै बदलेका छन् ।
तर, एक वर्षदेखि उनको पर्दामा उपस्थिति छैन । ‘प्रेमगीत ३’पछि उनका फिल्म प्रदर्शनमा त आएका छैनन् नै, कुनै फिल्ममा काम समेत गरेका छैनन् । यो बीचमा उनले केही फिल्ममा काम गर्ने चर्चा नचलेको होइन । तर, कुनै बनेनन् । अब भने प्रदीपको अर्को वर्षसम्मका लागि फिल्मको लाइनअप तयार भैसकेको छ । यसै महिना उनले तीनटा फिल्ममा काम गर्न लागेको खबर बाहिरियो ।
उनले आगामी माघ पहिलो साताबाट दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’मा काम गर्नेछन् । यसपछि उनले हिन्दी र नेपाली भाषामा बन्ने फिल्म ‘ऐरी’का लागि समय दिनेछन् । र, अर्को वर्ष फिल्म ‘एक्टर’मा काम गर्ने निश्चित भैसकेको छ । त्यस्तै, अर्को वर्ष उनले निर्देशक राउतकै अर्को एउटा फिल्ममा पनि काम गर्ने सम्भावना छ । ‘कामिनो’ र ‘एक्स ९’ पनि उनको पाइपलाइनमा छन् ।
एक वर्ष चुपचापझैँ देखिएका प्रदीप अब भकाभक फिल्म गर्ने मनस्थितिमा देखिन्छन् । समय सधैं एकनाश हुँदैन भन्ने उनले बुझेको हुनुपर्छ । उनले आफूलाई अभिनयमा परिपक्व पनि बनाइरहेका छन् । लभर ब्वाईकै रुपमा सीमित भएको आरोपका बीच प्रदीपले ‘प्रकाश’बाट राम्रै ‘सरप्राइज’ दिए । अब उनी भिन्न चरित्र र हिरोइज्म देखिने दुवै शैलीका फिल्ममा समान उपस्थिति जनाउँदैछन् ।