डेढ दशकअघिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’मा पहिलोपटक आर्यन सिग्देल र दयाहाङ राईबीच सहकार्य भएको थियो । यो फिल्म आर्यनको काँधमा थियो भने दयाहाङले सहायक भूमिकामा काम गरेका थिए । अहिले समय फेरिएको छ । यतिबेला आर्यनभन्दा दयाहाङ ‘विकाउ नायक’ बनिरहेका छन् । उनीहरुले दोस्रोपटक फिल्म ‘लोफर’मा पनि एकसाथ काम गरेका थिए ।
अब तेस्रोपटक दयाहाङ र आर्यनले एकसाथ फिल्ममा काम गर्ने भएका छन् । निर्देशक दिनेश राउतले आफ्नो आठौं फिल्म ‘गाउँ नै रमाइलो’मा उनीहरुलाई मुख्य भूमिकामा प्रस्तुत गर्न लागेका हुन् । फिल्मका लागि उनीहरु अनुबन्धित भैसकेको निकट स्रोतले जानकारी दिएको छ । फिल्ममा अर्का एक स्टार नायकलाई पनि लिने तयारी भैरहेको छ । अर्थात् यो फिल्म ‘मल्टीस्टारर’ हुनेछ ।
निर्देशक राउतले आगामी माघमा ‘पूजार सार्की’को छायांकन भ्याएपछि अर्को वर्षको सुरुवातमा ‘गाउँ नै रमाइलो’ गर्ने सम्भावना छ । शीर्षकले नै गाउँको कथामा आधारित भएर फिल्म बन्न लागेको बुझाउँछ । दयाहाङ र आर्यनलाई एक दशकपछि फेरि एकसाथ पर्दामा हेर्न दर्शकका लागि पनि निकै रोमाञ्चक हुनेछ । यो फिल्मलाई ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले निर्माण गर्दैछन् ।
निर्देशक राउतले आर्यनलाई फेरि काखी च्यापेर हिँड्न थालेका छन् । कुनै बेला आर्यनलाई मात्र हिरो लिएर फिल्म बनाउने गरेको आरोप उनीमाथि लाग्ने गर्थ्यो । ‘क्लासिक’पछि भने उनीहरुको सहकार्य टुटेको थियो । अब निर्देशक राउतले ‘गाउँ नै रमाइलो’सँगै ‘पूजार सार्की’मा पनि आर्यनलाई लिएका छन् । यसरी हेर्दा दिनेशले आर्यनको करिअरलाई फेरि उठाउने कोशिश गरेको देखिन्छ ।
(आर्यन सिग्देल र दयाहाङ राईले ‘मेरो एउटा साथी छ’पछि एकसाथ काम गर्न लागेको शीर्षकलाई परिवर्तन गरेका छौं ।)