गत असारमा नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’ भारतको ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्म हिन्दी भाषामा बिहीबार एमएक्स प्लेयरमा उपलब्ध भएको हो । यो प्लेटफर्ममा हिन्दी फिल्म तथा सिरिजहरु निःशुल्क हेर्न पाइने सुविधा छ । तर, नेपालमा यो एप वेब ब्राउजरमा भने खुल्दैन । प्ले स्टोरबाट एप डाउनलोड गरेर मात्र फिल्म हेर्न सकिन्छ ।
‘परस्त्री’ घरेलू बक्सअफिस र भारतमा असफल भएको थियो । फिल्म प्रचारका लागि नेपालबाट धाएर निर्देशकदेखि कलाकारसम्म भारतका विभिन्न टेलिभिजन समेत पुगेका थिए । तर, भारतमा फिल्म एकदिन पनि टिक्न नसकेको बताइन्छ । यद्यपि, फिल्मको कथावस्तु तथा प्राविधिक पक्षको नेपालमा प्रशंसा भएको थियो । र, निर्देशनमा सुरज पाण्डेले पनि राम्रो सम्भावना देखाएका छन् ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथामा आधारित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी लगायतको अभिनय छ । निरज कँडेलको छायांकन रहेको फिल्ममा शर्मिला पाण्डेको निर्माण र दीपेन्द्र के. खनालको लेखन छ । फिल्ममा शिल्पाले दिएको बोल्ड सिनको चर्चा भएको थियो ।