‘लभर गर्ल’को रुपमा रुचाइएकी अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यसकारण पनि यो फिल्म उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको टिजर सार्वजनिक गरिएको छ, जसमा पूजा ‘फुल अन एक्सन’ अवतारमा चित्रित छिन् ।
१ मिनेट ३३ सेकेण्ड लम्बाईको टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ । र, पृष्ठभूमिमा पूजाको ‘भ्वाइस ओभर’ राखिएको छ । तर, वजनदार संवादमा उनको डाइलग डेलिभरी निकै कमजोर देखिन्छ । यद्यपि, उनी टिजरमा समावेश एक्सन दृश्यमा छरितो देखिएकी छन् । टिजरमा आँखा विझाउने अर्को पक्ष भनेको भीएफएक्स हो । निर्माण टिमले हतारमा टिजर काटेको प्रष्टै बुझिन्छ ।
आगामी २०२४ मा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा पूजाको जोडी नव-अभिनेता कुन्साङ बम्जनसँग बाँधिएको छ । तर, टिजरमा कुन्साङलाई कमजोर देखाइएको छ । एक सिनमा उनलाई बचाउन पूजा गाडीले भित्ता फोडेर निस्किएकी छन् । र, मेशिनगन चलाउँदै प्रस्तुत छिन् । बदलाको कथामा बनेको फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको फिल्ममा हरि लामा ‘घले’को छायांकन छ भने संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत छ ।