यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को आगामी वर्षको बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्ममा ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । पोस्टरमा मिरुनालाई चित्रण गरिएको छ ।
फिल्ममा दयाहाङ र मिरुनासँगै प्रविण खतिवडा, मेनुका प्रधान र हेमन्त बुढाथोकीको पनि अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । उनी फिल्मका छायाँकर समेत हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् ।
निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले देशभर वितरण गर्नेछ । निर्देशक सुब्बाले ‘मनसरा’को औपचारिक घोषणा समेत गरेका थिएनन् । उनले गुपचुप रुपमै फिल्मको केही प्रतिशत छायांकन पूरा गरिसकेको जनाइएको छ । ‘जारी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका सुब्बाले ‘मनसरा’लाई ग्रामीण परिवेश र जीवनशैलीमा तयार गरेको पोस्टरबाट बुझ्न सकिन्छ ।