गत वर्षको ‘सेमी हिट’ फिल्म ‘के घर के डेरा’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ । शुक्रबार एक पोस्टरमार्फत् यसको दोस्रो श्रृंखलाको निर्माण घोषणा गरिएको छ । ‘के घर के डेरा : घर नं २’ नाम जुराइएको फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् भने ‘कर्नाली ब्लुज’ पुस्तकका लेखक बुद्धिसागरको लेखन रहेको छ । फिल्मलाई अर्को वर्षको तिहारमा रिलिज गरिँदैछ ।
निर्देशक खनालले फिल्मबारे फिल्मीखबरसँग भनेका छन्, ‘फिल्म पूरापूर सिक्वेल होइन । शीर्षकमै ‘घर नं २’ भनिएको छ । अर्थात् अर्को घरको कथामा फिल्म बन्नेछ । यसपटक फिल्मको निर्माण शैली फरक हुनेछ । र, अर्थपूर्ण फिल्म बनाउने छौं ।’ अहिले कथा लेखनकै चरणमा रहेकाले अघिल्लो श्रृंखलाका कलाकार दोहोरिने या नदोहोरिने भन्ने निश्चित नभैसकेको निर्देशक खनालले बताए ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त निर्माणमा बन्न लागेको फिल्मलाई आगामी वर्ष छायांकन गर्ने तयारी गरिएको छ । योभन्दा अघि निर्देशक खनालले सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत थापाको कथामा फिल्म ‘मेयर’ बनाउँदैछन् । उनको पाइपलाइनमा ‘आमा २’, ‘पशुपति प्रसाद ३’ र ‘चंगा चेट’ पनि छ । यो वर्ष र अर्को वर्ष उनको चर्को व्यस्तता रहने देखिन्छ ।