बलिउड फिल्म ‘एनिमल’ दुई हप्तादेखि घरेलू बक्स अफिसमा गर्जिरहेको छ । भारतमै ४ सय ७६ करोडमाथि कमाई गरिरसकेको फिल्म व्यापारमा अझै बलियो देखिएको छ । फिल्मको ‘लाइफटाइम कलेक्सन’ भारतमा ६ सय करोड हाराहारी हुने प्रक्षेपण छ । फिल्मले व्यापारमा रेकर्ड बनाइरहँदा अभिनयलाई लिएर अभिनेताद्वय रणवीर कपूर र बबी देओलको चर्चा यतिबेला उत्कर्षमा छ ।
फिल्ममा बबीको रोल लामो छैन । धेरैमा उनको रोल १५ मिनेट जति छ । तर पनि उनी आफ्नो छाप छोड्न सफल छन् । फिल्ममा उनले दिएको वैवाहिक बलात्कारको दृश्य अहिले विवादमा समेत तानिएको छ । यस्तैमा, उनका दाई तथा अभिनेता सनी देओलले ‘एनिमल’ हेरेर बबीको कामको खुलेर तारिफ गरेका छन् । तर, उनी फिल्मको कन्टेन्टलाई लिएर भने पूर्ण रुपमा सहमत भएनन् ।
उनले भनेका छन्, ‘फिल्म राम्रो छ । तर, केही चीज मलाई मन परेन । त्यो चीज मलाई आफ्नो फिल्मसहित अरु कुनै फिल्ममा मन पर्दैन । मलाई लाग्छ कि एक व्यक्तिको रुपमा मलाई कुनै पनि चीज मन पराउने–नपराउने अधिकार छ । यद्यपि, समग्रमा फिल्म राम्रो बनेको छ । संगीत राम्रो छ । बबी त बबी हो । ऊ ‘लर्ड बबी’ हो ।’ सनीले फिल्ममा मन नपरेको चीज भने बताउन चाहेनन् ।
त्यसो त फिल्ममा समावेश कयौं सिनलाई लिएर भारतमा विरोध भैरहेको छ । मारधाड, खुनखराबी, महिलाद्वेषी अश्लील संवादसँगै श्रीमतीसँगको नराम्रो व्यवहारलाई लिएर धेरैले आपत्ति जनाएका छन् । सनीले पनि यिनै चिज मन नपरेको संकेत गरेका हुनसक्छन् । सन्दीप रेड्डी भांगाको निर्देशन रहेको फिल्ममा अनिल कपूर, रश्मिका मन्दाना, सौरभ शुक्ला, तृप्ति डिमरीको पनि अभिनय छ ।