‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले २०७६ सालको कात्तिकमा ‘गाजलु’ निर्माता रोहित अधिकारीको एक बेनामे फिल्म सम्झौता गरेका थिए । दुवैको तयारी लभस्टोरी फिल्म बनाउने थियो । पछि दीपकराज गिरी समुहलाई भित्राउने गरी कमेडी विषयवस्तुमा फिल्म ‘छब्बीस करोड’ निर्माण गर्ने तयारी गरियो । स्क्रिप्ट समेत लेखियो । तर, अब यो फिल्मको भविष्य नै अन्योलमा परेको छ ।
फिल्म निर्देशनको जिम्मेवारीबाट दिनेश राउत अलग्गिएका छन् । स्रोतको दाबी अनुसार, निर्माता अधिकारसँग सृजनात्मक मतभेद (क्रिएटिभ डिफ्रेन्सेस)पछि उनले फिल्म छाडेका हुन् । यद्यपि, यसको पुष्टि दुवै पक्षले गरेका छैनन् । ‘पूजार सार्की’पछि निर्देशक राउतले ‘छब्बीस करोड’लाई अगाडि बढाउँदै थिए । दीपकराज गिरीसँग स्क्रिप्टलाई लिएर धेरैपटक छलफल पनि भैसकेको थियो ।
‘प्रसाद र प्रकाश’पछि दीपकराज समुह दिनेश राउतसँग सहकार्य गर्न इच्छुक थियो । तर, अब ‘छब्बीस करोड’मा उनीहरुबीचको सहकार्यको ‘च्याप्टर क्लोज’ भएको छ । त्यसो त राउत आफ्नो फिल्ममा निर्माता वा अरु कुनै पक्षको हस्तक्षेप नरुचाउने निर्देशक मानिन्छन् । उनी निर्देशनको जिम्मेवारीबाट अलग भएसँगै अब ‘छब्बीस करोड’ बन्छ या बन्दैनमा भन्नेमा नै अन्योल देखिएको छ ।
निर्देशक राउत आगामी माघदेखि आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई लिएर फिल्म ‘पूजार सार्की’ बनाउने तयारीमा छन् । यसपछि उनले फिल्म ‘गाउँ नै रमाइलो’ बनाउनेछन् । उनको पाइपलाइनमा अरु दुईवटा फिल्म पनि छन् । कुनै बेला लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरेका राउतले ‘प्रसाद’देखि भने पूरापूर सामाजिक विषयवस्तुलाई उठाइरहेका छन् ।