यसमा दुईमत नै छैन कि पल शाह अहिलेको समयका राम्रो क्रेज भएका अभिनेता हुन् । विशेषगरी म्यूजिक भिडियोबाट उनी घर-घरमा चिनिएका छन् । एक घटनाका कारण एक वर्ष जेल जीवन विताए पनि उनको क्रेज खासै खस्किएको छैन । मेला-महोत्सवमा उनको नामले उर्लिने भीडले पनि यो प्रष्ट देखाउँछ । जेलमुक्त भएपछि उनी लगातार विभिन्न महोत्सवमा सहभागी भइरहेका छन् ।
यसैक्रममा, उनी यही शनिबार धनगडीस्थित ‘सुदूरपश्चिम महोत्सव’मा प्रस्तुति दिन पुगेका थिए । त्यहाँ उनलाई हेर्नका लागि १ लाख बढी दर्शक ओइरिएको बताइन्छ । आयोजकले भीड र टिकट व्यवस्थापन समेत सकेको थिएन । पललाई आफ्नो मोबाइलमा कैद गर्न र छुनका लागि दर्शकहरुबीच भएको हानाथाप रोचकलाग्दो देखिएको थियो । यसले उनको क्रेजलाई थप प्रमाणित गरेको छ ।
तर, नेपाली कलाकारहरुको क्रेज मेला-महोत्सवमा मात्र सीमित भएको देखिन्छ । त्यही कलाकारको फिल्म हलमा रिलिज हुँदा भने दर्शकको खडेरी लाग्छ । पलकै हकमा यो देखिएको छ । अब उनलाई आफ्नो क्रेज हलमा पनि प्रमाणित गर्नुपर्ने ठूलो चुनौती छ । अर्को वर्ष उनका दुईवटा फिल्म ‘मायावी’ र ‘पूजार सार्की’ प्रदर्शनमा आउनेछन् । यी दुई फिल्मले उनको क्रेजको परीक्षा लिनेछन् ।
जेल जीवनपछि उनको करिअर चुनौतीपूर्ण अवस्थामा छ । एउटा वर्गले उनलाई स्वीकार नै नगर्न सक्छ । यो अवस्थामा उनले अब फिल्म गर्ने शैली बदल्नु पर्छ । अभिनयमा आफूलाई परिपक्व बनाउनु पर्नेछ । चरित्रमा विविधता खोज्न आवश्यक छ । एक हिसाबले फिल्ममा उनको ‘पूर्नजन्म’ हो । अब उनले लुक्सको भ्रमबाट मुक्त भएर अभिनयको ल्याकतमा आफूलाई स्थापित गर्न जरुरी छ ।