यो वर्षको ७ महिनालाई समीक्षा गर्दा नेपाली फिल्मका लागि सुखद् मान्न सकिन्छ । यो अवधिमा दुई दर्जन आसपास फिल्म रिलिज हुँदा ५ फिल्म सफल भए । र, यस वर्षको अन्त्यसम्म यो अंक १० पुग्न सक्ने सम्भावना प्रवल छ । एकसेएक ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धाका बावजूद नेपाली फिल्मले व्यावसायिक सफलता हासिल गर्नु फिल्म क्षेत्रकै लागि एउटा ठूलो उपलब्धि मान्न सकिन्छ ।
तर, तिहारको छेकोमा रिलिज भएको फिल्म ‘दिमाग खराब’पछि नेपाली हलमा भारतीय फिल्मको दबदबा छ । फिल्म ‘टाइगर ३’ले लगभग एक हप्ता हल कब्जा गर्यो । यसपछि प्रदर्शनमा उत्रिएको बलिउड फिल्म ‘एनिमल’ले दुई हप्तादेखि हल छाडेको छैन । अझै पनि फिल्मको अकुपेन्सी राम्रो छ । ‘एनिमल’सँग आएको बलिउडकै ‘साम बहादुर’को कमाई पनि नेपालमा सन्तोषजनक छ ।
‘दिमाग खराब’ रिलिजको एक महिनापछि यही शुक्रबारदेखि हलमा दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आएका थिए । तर, दर्शक अभावले दुवै फिल्म प्रायः हलबाट दुई दिनमै उत्रिसकेका छन् । अब पुष २७ गतेअघि हलमा नेपाली फिल्म हुने छैनन् । किनकि, यस हप्ता बलिउडको ‘डंकी’ र साउथको ‘सलार’ प्रदर्शनमा आउँदैछन् । यी दुई फिल्मलाई तीन हप्ता छाडिएको छ ।
‘डंकी’ र ‘सलार’ले नेपाली बक्स अफिसमा पनि एकखालको भूकम्प ल्याउने निश्चित प्रायः छ । कमाईमा को अगाडि हुन्छ, त्यो मात्र पखाईको विषय हो । यसरी हेर्दा नेपाली हललाई मंसिरमा ‘एनिमल’ले बचायो । पुषमा ‘डंकी’ र ‘सलार’को भर छ । माघबाट ठूलो स्टारकास्ट भएका नेपाली फिल्म श्रृंखलाबद्ध रुपमा रिलिज हुँदैछन् । हलको आम्दानी जाडो महिनामा पनि तात्तिएको अवस्था छ ।