दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’मा दुईजना अभिनेत्रीको प्रवेश भएको छ । फिल्म ‘महापुरुष’बाट डेब्यू गरेकी अञ्जना बराइली र ‘जारी’, ‘छक्का पञ्जा ४’ जस्ता फिल्ममा काम गरिसकेकी परीक्षा लिम्बु फिल्मको मुख्य भूमिकामा निश्चित भएका हुन् । दुई हप्ताअघि निर्माण टिमले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको हो ।
फिल्ममा यसअघि नै अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । फिल्ममा आर्यनको जोडी अञ्जना र प्रदीपको जोडी परीक्षासँग बाँधिनेछ । पलको भने जोडी हुने या नहुने जनाइएको छैन । आगामी माघको पहिलो साताबाट पश्चिम नेपालमा छायांकन गर्न लागिएको फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि उनले निर्देशक राउतकै ‘प्रकाश’ लेखेका थिए ।
फिल्मलाई संगीतकार समेत रहेका सुभाष भुषालले निर्माण गर्नेछन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहने फिल्मको वितरणको जिम्मा आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ । पहिलोपटक आर्यन, प्रदीप र पलले एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । जसले गर्दा ‘पूजार सार्की’प्रति अपेक्षा चुलिनुको साथै दर्शकमा पखाई अधैर्य बनेको छ । सम्भवतः फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ ।