नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी सम्बन्ध विग्रिएको अभिनेताको रुपमा प्रदीप खड्कालाई लिइन्छ । ‘प्रेमगीत’पछि सुदर्शन थापा र पूजा शर्मासँग, ‘लिलिबिली’पछि निर्देशक मिलन चाम्ससँग र ‘रोज’पछि निर्देशक निरक पौडेलसँग उनको सम्बन्ध चिसियो । भुवन केसी र अनमोल केसीसँग पनि वार छ । फिल्ममा राजनीति बढी गर्ने भएकाले प्रदीपको मेकरसँग सम्बन्ध विग्रने गरेको बताइन्छ ।
अब भने उनी फुटेर नभइ जुटेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छन् । यसैले उनी विग्रिएको सम्बन्ध सुधार गर्न लागिपरेका छन् । सम्भवतः यसको सुरुवात निर्देशक सुदर्शन थापाबाट हुन सक्नेछ । उनी सुदर्शनको फिल्ममा काम गर्न तयार देखिएका छन् । प्रदीप स्वयंले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा सुदर्शन थापासँग चाँडै एउटा फिल्ममा सहकार्य हुन सक्ने संकेत गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई सुदर्शन दाईको एउटा फिल्म गर्नु नै छ । डेब्यू गर्दा उहाँले मलाई जसरी विश्वास गर्नुभयो, त्यो हिसाबले दाईसँग अर्को फिल्म गर्दा दर्शकलाई रोमाञ्चक नै हुन्छ होला । दाईसँग फिल्म त गर्ने नै हो तर कुन हुन्छ थाहा छैन ।’ ‘प्रेमगीत’पछि पनि सुदर्शन थापाले आफूलाई केही फिल्मको प्रस्ताव राखेको भए पनि आफ्नै व्यस्तताले गर्दा नभ्याएको उनले स्मरण गरेका छन् ।
शीर्षक तय नहुँदै ‘रावायण’ पनि सबैभन्दा पहिला आफूलाई अफर भएको उनले बताएका छन् । त्यसबेला आफू ‘कामिनो’मा व्यस्त रहेकाले काम गर्न नपाएको उनको भनाई छ । अनमोल केसीले ‘रावायण’ छाडेपछि भने यो फिल्मको विषयमा कुराकानी नभएको उनले प्रष्ट पारेका छन् । यद्यपि, एउटा फिल्ममा काम गर्ने भनेर सुदर्शन थापासँग लामो समयदेखि कुरा भैरहेको प्रदीप बताउँछन् ।
‘रावायण’बाट अफर भएको भन्ने चर्चामा उनी भन्छन्, ‘यही फिल्मका लागि भनेर चाहिँ अहिले कुरा भएको छैन । सुदर्शन दाईसँग कुनै एउटा फिल्म गर्ने भन्ने कुरा त धेरै अगाडिदेखि भैरहेको थियो । सुदर्शन दाईसँग एउटा फिल्ममा काम गर्छु भन्नेमा चाहिँ म छु । दाईसँग काम गर्न मलाई कहिल्यै समस्या पनि थिएन ।’ अरुले छाडेको फिल्म गर्न आफूलाई समस्या नरहेको पनि उनको तर्क छ ।