निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’ले तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शन थालेको थियो । प्रदर्शनको दुई दिन फिल्मको व्यापार दयनीय रह्यो । यसले फिल्मको ओभरसिज मार्केट पनि विथोल्ने देखिएको थियो । तर, तिहार विदामा फिल्मले व्यापार बढाउनुका साथै अब्बल ‘वर्ड अफ माउथ’ पाएपछि विदेशमा एकाएक माग चर्कियो ।
नेपालमा छैटौं हप्तामा प्रदर्शनरत ‘दिमाग खराब’को यतिबेला अष्ट्रेलियामा राम्रो क्रेज देखिएको छ । विभिन्न शहरहरुमा दर्जनौं शो भैसकेका छन् । र, हरेक शोमा दर्शक उपस्थिति उल्लेख्य छ । यतिबेला निर्देशक बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अष्ट्रेलियामा नै छन् । त्यहाँ उनीहरुले दर्शकहरुसँग भेटघाट गरिरहेका छन् । उनीहरुकै कारण फिल्मको शोमा दर्शक उपस्थिति बाक्लिँदो छ ।
सिड्नीपछि अहिले ब्रिस्बेन शहरमा रहेका निश्चल र स्वस्तिमा अष्ट्रेलियामा फिल्मलाई मिलेको दर्शकको साथ र सुखद् प्रतिक्रियाले उत्साहित देखिएका छन् । अष्ट्रेलियापछि यो जोडी फिल्मको प्रदर्शनका लागि अमेरिका पनि प्रस्थान गर्न लागेको जानकारी प्राप्त छ । पहिलोपटक उनीहरु फिल्म लिएर विदेश यात्रामा निस्किएका हुन् । यो उनीहरुका लागि ‘रिफ्रेसमेन्ट’ पनि बनिरहेको देखिन्छ ।
फिल्मको विदेश प्रदर्शनपछि स्वस्तिमा नयाँ फिल्म सम्झौता गर्ने तयारीमा छिन् । केही मेकर उनको पखाईमा स्क्रिप्ट काखी च्यापेर बसेका छन् । निश्चल पनि अब हरेक वर्ष फिल्म बनाउने योजनामा छन् । स्रोतका अनुसार, उनी नेपाल फर्किएपछि बुद्धिसागरले लेखेको कथामा फिल्म ‘जिन्दावाद’ बनाउने तयारीमा जुट्नेछन् । त्यसअघि उनले एउटा फिल्ममा अभिनय गर्ने सम्भावना उच्च छ ।