मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाललाई फिल्मभन्दा नाटकमा सन्तुष्टि, ल्याउँदैछन् बायोग्राफी

फिल्मीखबर, काठमाडौं, 2023/12/20

Rajesh Hamal

 

नेपाली फिल्ममा गर्विलो नाम बनाएका राजेश हमालले तीन दशक लामो करिअरमा २ सय बढी फिल्म र दुईवटा नाटकमा अभिनय गरेका छन् । तर, उनलाई सन्तुष्टि भने फिल्मभन्दा बढी नाटकले दिएको छ । उनले करिअरको सुरुवातताका विश्वप्रख्यात कवि विलियम शेक्सपियरको एक नाटकमा अभिनय गरेका थिए भने करिब १० वर्षअघि ‘कोर्ट मार्सल’ भन्ने नाटकमा काम गरेका थिए ।

नाटकमा अभिनयबारे उनले यसै साता एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई ‘कोर्ट मार्सल’ गर्दाखेरि फिल्म गर्दाभन्दा बढी सन्तुष्टि महसुस भएको थियो । मैले जीवनमा दुईवटा नाटक गरेको छु । मेरो पहिलो ‘स्टेज परफर्मेन्स’ चाहिँ शेक्सपियरको अंग्रेजी नाटक थियो । पहिलो फिल्म ‘युगदेखि युगसम्म’ गरेको करिब एक वर्षपछि त्यो नाटक गरेको थिएँ । त्यसमा पनि सन्तुष्टि मिलेको थियो ।’

फिल्ममा भने ‘बसन्ती’बाट सन्तुष्टि मिलेको हमाल बताउँछन् । तर, उक्त फिल्मबाट निर्माता घाटामा जाँदा उनलाई नमीठो महसुस भएको रहेछ । विगत ६/७ वर्षयता भने उनी फिल्म अभिनयबाट टाढा देखिएका छन् । अब उनी संख्या थप्नका लागि मात्र फिल्म गर्ने सोचमा छैनन् । बरु फिल्मै नगर्ने पक्षमा छन् । अब फिल्म गर्दा भूमिका र प्रस्तुति दुवै सशक्त हुनुपर्छ भन्नेमा उनी सचेत छन् ।

उनी भन्छन्, ‘म अहिले कुन विन्दूमा उभिएको छु भने अब फिल्म गर्नका लागि मात्रै गर्दिनँ । बरु फिल्म नखेल्ने पक्षमा छु । फिल्म गरेँ भने उत्कृष्ट होस् भन्नेमा छु । किनकि, एउटा विश्रामपछि आउँदाखेरि भूमिका र फिल्मको प्रस्तुति राम्रो हुनुपर्छ भन्नेमा सचेत छु । एकहिसाबले म फिल्म छनोटमा चुजी भएको छु ।’ हमालले आफ्नो चाँडै बायोग्राफी पुस्तक आउन लागेको समेत बताएका छन् ।