यस वर्षको दशैं र तिहारमा ठूला बलिउड तथा साउथ फिल्मका बावजूद नेपाली फिल्मले हलमा आफ्नो पकड बनाएका थिए । तर, यतिबेलाको परिदृश्य अलग छ । नेपाली हल नै नेपाली फिल्म विहीन छन् । एक महिनापछि गत शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’ले पहिलो दिन नै दम तोडेपछि अहिले नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ ।
तीन हप्तादेखि बलिउड फिल्म ‘एनिमल’ले हल छाडेको छैन । यसबीच, बुधबारबाट हलिउड फिल्म ‘आक्वाम्यान २’ र बिहीबारबाट बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ प्रदर्शनमा आएको छ । जसले गर्दा डेढ महिनादेखि धेरथोर हलमा टिकिरहेको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’लाई पनि उतारिएको छ । पहिलो दिन नेपालका हलमा ‘डंकी’को अकुपेन्सी उच्च छ ।
त्यस्तै, भोलि शुक्रबारबाट साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’ पनि प्रदर्शन हुँदैछ । यो फिल्मको बुकिङ ट्रेन्ड नेपालमा ‘डंकी’भन्दा राम्रो छ । यही दुई फिल्मका कारण यो हप्ता कुनै नेपाली फिल्म प्रदर्शनमा आउन नसकेका हुन् । आगामी दुई हप्ता पनि हलमा नेपाली फिल्म विहीनकै स्थिति रहनेछ । किनकि, साँढेको जुधाईमा बाछाको मिचाई हुने डर नेपाली निर्माताहरुमा छ ।
पुषको तीन हप्ता दुई भारतीय फिल्मलाई एकलौटी छाडिए पनि पुष २७ गते भने दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ एकआपसमा भिड्ने तयारीमा छन् । माघ र फागुनमा पनि यस्तै अवस्था छ । हुन त विदेशी फिल्मसँग भाग्ने तर नेपाली फिल्महरु आ-आफैं जुध्ने परम्परा नै भैसकेको छ । नेपाली फिल्म नहुँदा पनि हलको व्यापार भने विदेशी फिल्मका कारण चकाचौंध देखिन्छ ।