बलिउड सुपरस्टार सलमान खानका भाई तथा अभिनेता अरबाज खानले दोस्रो विवाह गर्ने भएका छन् । ‘बलिउड डिभा’ मलाइका अरोरासँग वैवाहिक सम्बन्ध टुंगिएको ७ वर्षपछि उनले प्रेमिका सौरा खानसँग विवाह गर्न लागेका हुन् । उनले यही डिसेम्बर २४ मा विवाह गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मलाइकासँग अरबाज सन् २०१६ मा कानुनी रुपमा अलगिएका थिए ।
सौरा एक प्रोफेसनल सेलिब्रेटी मेकअप आर्टिस्ट हुन् । उनले बलिउडका कयैन् सेलिब्रेटीहरुसँग काम गरिसकेकी छन् । अब उनी खान परिवारकी बुहारी बन्न लागेकी हुन् । अरबाज र सौराको पहिलो भेट फिल्म ‘पटना शुक्ला’को सेटमा भएको थियो । उनीहरुले विवाह सामान्य रुपमा गर्न लागेको जनाइएको छ । विवाहमा दुई पक्षका परिवारका सीमित सदस्यहरुको मात्र उपस्थिति रहनेछ ।
५६ वर्षको उमेरमा दोस्रो विवाह गर्न लागेका अरबाजको मलाइकाबाट एक छोरा अरहान छन् । मलाइकासँग सम्बन्ध विच्क्षेदपछि अरबाज अभिनेत्री जर्जिया एन्ड्रियानीसँग अफेयरमा थिए । तर, पछि उनीहरुको ब्रेकअप भयो । उता मलाइका बलिउड अभिनेता अर्जुन कपूरसँग ५/६ वर्षदेखि प्रेम सम्बन्धमा छिन् । उनीहरु पनि चाँडै विवाह गर्ने योजनामा रहेको भारतीय मिडियामा चर्चा छ ।