२०७४ सालमा फिल्म ‘रानीमहल’ घोषणा भएको थियो । तर, विभिन्न कारणले आधाउँधीमै फिल्मको छायांकन रोकिन पुग्यो । अब ‘राजमहल’ नाममा नयाँ फिल्म बन्ने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच निर्माण घोषणा गरिएको फिल्मलाई सविन कुमार तोलाङ्गीले निर्देशन गर्नेछन् । आगामी माघ पहिलो साताबाट छायांकन थालिने फिल्ममा लेखन पनि निर्देशक तोलाङ्गीकै छ ।
फिल्ममा कलाकारको लाइनअप बलियो देखिन्छ । पुराना तथा नयाँ कलाकारहरुको समिश्रण रहेको फिल्ममा रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, सिम्रन पन्त, पवित्रा साकी (मिस पबी), अर्जुन श्रेष्ठ, दिनेश सिग्देल, अजय लामा, अजय रोक्का, पूजा भण्डारी आदिको अभिनय रहनेछ । फिल्मले राजमहलभित्रको कथा उठाउने कार्यक्रममा जानकारी गराइयो ।
छहारी मल्टीमिडियाको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा ऋषि लामिछाने छन् भने निर्मातामा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ, अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र युवराज कार्की छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । नेपालसँगै अष्ट्रेलिया र न्यूजिल्यान्डमा छायांकन हुने फिल्मको बजेट ४ करोड अनुमान गरिएको छ ।
अभिनेता उप्रेतीले फिल्मको कथावस्तु एकदमै चुनौतीपूर्ण रहेको बताएका छन् । उनले भने, ‘यो फिल्मको जुन कन्टेन्ट छ, त्यसमा काम गर्न मलाई चुनौतीपूर्ण छ । मलाईभन्दा बढी चुनौती निर्देशक/निर्मातालाई छ ।’ त्यस्तै, आँचलले स्क्रिप्ट पढ्दा राजमहलभित्र कस्तो माहोल हुन्छ भन्ने महसुस गर्न पाएकोमा खुसी व्यक्त गर्दै फिल्मको पात्रलाई लिएर आफू एकदमै उत्साहित रहेको बताइन् ।