२०५८ सालको जेठ १९ गते नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको ज्यान गएको थियो । त्यो हत्याकाण्ड अझै रहस्यमय छ । कसैले दीपेन्द्रले हत्याकाण्ड गरेको दाबी गर्छन् त कसैले विदेशी शक्तिको हात रहेको तर्क गरिरहेका छन् । तर, २२ वर्ष भैसक्दा पनि हत्याकाण्डको रहस्य इतिहासकै गर्भमा छ ।
यसैबीच, अभिनेता रमेश उप्रेतीले नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्रबाट भएको ठोकुवा गरेका छन् । बिहीबार उनको मुख्य भूमिका रहने फिल्म ‘राजमहल’को घोषणा कार्यक्रममा दरबार हत्याकाण्डको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले सीधा उत्तर दिए- ‘यो नितान्त मेरो धारणा हो । यसमा सत्य होला या नहोला, त्यो मलाई मतलब छैन । त्यो हत्यामा दीपेन्द्र सरकारको हात छ ।’
दरबार हत्याकाण्डमा विदेशी शक्ति वा ज्ञानेन्द्र शाह कसैको हात नरहेको पनि उनी दाबी गर्छन् । यो विषयमा आफूले जापान पुगेर समेत बोलेको उनले स्मरण गरे । ‘यो मेरो धारणा हो । सबैसँग मेल खान्छ भन्ने छैन । र, मलाई लागेका कुरा सही हुन्छन् भन्ने पनि छैन,’ रमेशले भने । ‘राजमहल’का अर्का अभिनेता अर्जुन श्रेष्ठले भने दरबार हत्याकाण्डमा विदेशी शक्तिको हात हुनसक्ने बताए ।
फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मा भने यो विषयमा संयमित देखिइन् । एउटा गम्भीर विषयमा हलुका रुपमा छलफल गर्नु राम्रो नहुने उनको तर्क थियो । ‘जसको घरमा जे भयो, त्यो नराम्रो घटना थियो । यसैले यो विषयमा म दाबी गरेर केही बोल्न सक्दिनँ । यस्तो गम्भीर विषयमा हल्का रुपले छलफल नगरौं,’ उनले पत्रकारसँग आग्रह गरिन् । उनको बोलीमा हल तालीले गुञ्जिएको थियो ।