दर्शक हँसाउने चिनारी बनाएको ‘जात्रा’ श्रृंखलाको तेस्रो सिक्वेल ‘महाजात्रा’को छायांकन पूरा भएको छ । कात्तिक १५ गते शुभमुहूर्त गर्दै बुढानिलकण्ठस्थित मह स्टुडियोबाट सुरु गरिएको फिल्मको छायांकन बिहीबार एक गीत र क्याइमेक्स दृश्य खिच्दै प्याकअप भएको हो । ५०औं दिनमा फिल्मको छायांकन सकाइएको हो । यो फिल्म आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर बाङ्देल, प्रवीण खतिवडा, सुमन कार्कीलगायतको अभिनय छ । अभिनयका उस्ताद मानिने हरिवंश र विपिनले पहिलोपटक एकसाथ काम गरेका हुन् । जसले गर्दा ‘महाजात्रा’प्रति दर्शकमा उच्च अपेक्षा छ ।
फिल्ममा हरिवंश र विपिनले ३२ टेकसम्म लिएका छन् । यसको खुलासा निर्देशक भट्टराई स्वयंले गरेका हुन् । उनले भने, ‘उहाँहरु यति सहज हुनुहुन्छ कि ३०/३२ टेक खाँदा पनि कहिल्यै प्रश्न गर्नुभएन । राम्रो नहुँदासम्म टेक दिइरहनुहुन्थ्यो । कहिले टेक्निकल कुरा मिल्दैन थियो त कहिले उहाँहरु नै त्यो जोनमा बस्नुहुन्न थियो । यद्यपि, ३०/३२ टेक लिनु ठूलो कुरा होइन । यस्तो त भैरहन्छ ।’
हरिवंश आचार्य र विपिन कार्कीलाई एउटै फ्रेममा उतार्न पाएकोमा उनी खुसी महसुस गर्छन् । उनले छायांकन रमाइलोसँग भएको पनि बताए । ‘छायांकन रमाइलो भयो । हामीले छायांकनमा जति इन्जोय गरौं, फिल्म हेर्दा दर्शकहरुलाई पनि त्यस्तै महसुस हुनेछ,’ उनले भने । उनले यसअघि ‘जात्रा’को दुईवटा श्रृंखलासँगै ‘शत्रु गते’ र ‘महापुरुष’ गरी चारवटा सुपरहिट फिल्म दिइसकेका छन् ।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । षट्कोण आर्ट्सको प्रस्तुती रहेको फिल्मको छायांकन हुनु अगावै २ करोडमा ओभरसिज राइट्स बिक्री भइसकेको छ । ‘जात्रा’को दुईवटा सिरिज पैसा र सुनको वरिपरि केन्द्रित भए । ‘महाजात्रा’मा सुन र पैसासँगै राष्ट्रिय मुद्दालाई पनि समेटिएको निर्देशक भट्टराईले बताएका छन् ।