निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘डिग्री माइला’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । फिल्मको पहिलो चरणको छायांकन भैसकेको छ । दोस्रो चरणको छायांकन भने यही मंसिर पहिलो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिम थियो । तर, गत कात्तिकमा घाइते भएका कलाकार प्रकाश घिमिरेलाई उभिएर छायांकन गर्न समस्या भएकाले फिल्मको सेड्युल धकेलिएको छ ।
‘डिग्री माइला’को सेड्युल सर्दा दयाहाङको पाइपलाइनमा रहेका एक दर्जन बढी फिल्महरुको छायांकन सेड्युल अस्तव्यस्त बनेको छ । यही पुषबाट छायांकन गर्न लागिएको फिल्म ‘वरिष्ठ बलराम’ समेत अब चैतमा पुगेको छ । यो फिल्म धकेलिनुमा स्क्रिप्ट पनि एउटा कारण हो । किनकि, यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको छ । जाडोले गर्दा पनि फिल्मलाई चैतमा खिच्न लागिएको हो ।
‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्ममा खगेन्द्र लामिछानेको लेखन छ । उनी स्वयं पनि मुख्य भूमिकामा देखिँदैछन् । दयाहाङ र खगेन्द्रको अपोजिटमा भने अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी हुनेछिन् । यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी उनी अहिले अमेरिकामा छिन् । उनी माघमा फिल्मको तयारीका लागि नेपाल आउने जानकारी प्राप्त छ ।
लामो समयदेखि उनको सुन्दरतालाई लिएर चर्चा भैरहेको छ । उनलाई धेरै फिल्मबाट अफर समेत पुगेको थियो । तर, अध्ययनका कारण उनले प्रस्ताव नकारेकी थिइनन् । अब उनी ‘वरिष्ठ बलराम’बाट अभिनयको परीक्षा दिने तयारीमा छिन् । यो फिल्मका लागि उनलाई निर्माता रोहित अधिकारीले १० लाख पारिश्रमिक दिएका छन् । फिल्मलाई आगामी तीजमा प्रदर्शन गरिने जनाइएको छ ।