कुनै ठूलो नेपाली र विदेशी फिल्म प्रदर्शनमा आउँदा प्रदर्शनको संघारमा रहेका नेपाली फिल्मको टिजर तथा ट्रेलर हलमा देखाइने गरिएको छ । यसले धेरै दर्शकमा फिल्मको जानकारी पुग्ने विश्वास नेपाली निर्माताहरुमा छ । दर्शकलाई फिल्मप्रति आकर्षित गर्न युट्युब रिलिजमा नसमेटिएका दृश्य समेत हलमा देखाइने गरिन्छ । फिल्म ‘हात्तीछाप’का मेकरले पनि यही शैली अपनाएका छन् ।
आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको टिजर एक महिनाअघि नै युट्युबमा रिलिज भैसकेको छ । हलमा भने यो हप्ताबाट प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘डंकी र सलार’सँग टिजर देखाइएको छ । युट्युबमा रिलिज भएको टिजरभन्दा हल टिजर केही फरक छ । र, दर्शकले पनि हलमा सार्वजनिक फिल्मको कमेडीयुक्त टिजरलाई बढी रुचाएका छन् ।
निर्माता किरण नेपालीले हलमा टिजर बज्दा दर्शकबाट हुटिङ र ताली आउने गरेको बताएका छन् । ‘हलमा सार्वजनिक टिजरलाई दर्शकले रुचाएको पायौं । टिजरका पञ्चलाइनमा दर्शकहरु रमाएका छन् । विशेषगरी सौगात मल्लको गेटअप र संवाद दर्शकलाई बढी मन परेको छ,’ उनले भने । हलमा टिजरलाई मिलेको प्रतिक्रियाले फिल्मप्रति अझ आत्मविश्वास बढेको किरणको भनाई छ ।
सिमोस सुनुवार निर्देशित फिल्ममा सौगातका साथै दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हलमा, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई आदिको पनि अभिनय छ । ‘हात्तीछाप’मा सुशान्त प्रजापतिको छायांकन र प्रदीप भारद्वाजको लेखन रहेको छ ।