अभिनयमा प्रमाणित अभिनेत्री सुरक्षा पन्तले फिचर फिल्म, सर्ट फिल्म र म्यूजिक भिडियो हुँदै अब ओटीटी वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरियो । बलिउडका दर्जनौं फिल्ममा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् ।
यो सिरिजमा सुरक्षासँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली आदिको पनि अभिनय रहनेछ । एक सय वर्षअघिको काठमाडौँको सेटअपमा छायांकन गरिने सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने निर्देशक प्रधानले बताए । विश्व चर्चित ओटीटी नेटफ्लिक्सको प्राविधिक मुल्यांकनमा आधारित रहेर सिरिज बन्ने जनाइएको छ ।
अभिनेत्री पन्तले आफूले पहिलेदेखि नै ओटीटी प्लाटफर्मको पक्षमा वकालत गर्दै आएको बताएकी छन् । ‘अब बन्ने नेपाली फिल्म र सिरिजहरु हलमा मात्र सीमित हुनु हुँदैन । विश्वका प्रतिष्ठित ओटीटीमा पनि जानुपर्छ,’ उनी भन्छिन् । उनले नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । स्क्रिप्टअनुसार सिरिज राम्रो बन्ने सुरक्षाको विश्वास छ ।
सिरुपाते कट्स प्रा.लिले निर्माण गर्ने सिरिजको निर्माता आशिष राज महर्जन र लुइश राज महर्जन हुन् भने सह-निर्मातामा कुनाल गुरुङ रहेका छन् । निर्माता आशिषले तयार पारेको कथामा निर्देशक प्रधानले पटकथा बुनेका हुन् । यसका छायाँकार रोशन राई हुन् । राईले पनि केही बलिउड फिल्ममा छायाँकार टिममा रहेर काम गरेका छन् । सिरिजलाई नेटफ्लिक्स रिलिजको योजना छ ।