८० को दशकमा बलिउड फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता दलिप ताहिल पहिलोपटक नेपाल आइपुगेका छन् । उनले सोमबार इन्स्टाग्राम स्टोरीमा त्रिभुवन विमानस्थलबाहिर माला र खादा लगाएर खिचेको एक तस्वीर राख्दै क्याप्सनमा लेखेका छन्, ‘नेपाल तिमी प्यारो छौ ।’ काठमाडौं ओर्लिएपछि ताहिलले आरामदायी मौसमले माग गर्यो भन्दै मःमको स्वाद लिएका थिए ।
मंगलबार पाटन दरबार स्क्वायर क्षेत्रमा दलिपसँग नेवारी खाजा खाएर त्यस क्षेत्रको घुमफिर गरेको तस्वीर अभिनेता तथा सञ्चारकर्मी सञ्जय गुप्ताले समेत आफ्नो इन्स्टाग्राममा सेअर गरेका छन् । सञ्जयको पोडकास्टमा दलिप अतिथिको रुपमा देखिन सक्ने चर्चा छ । उनको नेपाल भ्रमणको उद्देश्य घुमफिर मात्र रहेको बुझिएको छ । विशेषगरी ताहिल क्रिसमस सेलिब्रेट गर्न नेपाल आएका हुन् ।
उनले एक सय बढी बलिउड फिल्ममा अभिनय गरेका छन् । ‘बाजिगर’को मदन चोपडाको रुपमा लोकप्रिय मानिने उनले ‘कहो ना प्यार है’, ‘चोरी चोरी चुपके चुपके’, ‘राजा’, ‘राम लखन’, ‘हम हैं राही प्यार के’, ‘कयामत से कयामत तक’ जस्ता फिल्ममा यादगार चरित्र निर्वाह गरेका छन् । ७१ वर्षिय दलिपको अभिनय करिअर भने सन् १९७४ मा आएको फिल्म ‘अंकुर’बाट सुरु भएको थियो ।