अभिनेता प्रमोद अग्रहरी अभिनयमा पारंगत मानिन्छन् । हरेक प्रकारको चरित्रमा जीवन्त बाँच्न सक्ने खुबी भएका उनका लागि यो पुष महिना विशेष छ । किनकि, यही पुष २७ गतेदेखि उनको मुख्य भूमिका रहेको फिल्म ‘चित्रा’ प्रदर्शनमा आउँदैछ भने करिब ४ वर्षपछि उनले ‘पगला घोडा’मार्फत् रंगमञ्चमा पुनरागमन गरेका छन् । यो नाटक पुष १२ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ ।
प्रमोदले रंगमञ्च हुँदै फिल्मसम्मको यात्रा तय गरेका हुन् । त्यसैले उनलाई नाटकप्रति बेग्लै खालको लगाव छ । नाटकले आफैंलाई चिन्न सिकाउँछ भन्ने उनलाई लाग्छ । ‘नाटक गरेर आएको कलाकारले राम्रो काम गर्न सक्छ भन्नेमा मलाई लाग्छ । समय मिलेको खण्डमा सबै कलाकारले नाटक गर्दा राम्रै हुन्छ । नाटक गर्दा घाटा चाहिँ हुँदैन । आफैंलाई चिन्न नाटकले सिकाउँछ,’ उनी भन्छन् ।
फिल्म र नाटक दुवैप्रति आफ्नो मोह रहेको प्रमोद बताउँछन् । ‘मलाई फिल्म र नाटक दुवैप्रति मोह छ । म यी दुवै माध्यममा बाँच्ने मान्छे हुँ । सुरुवात नाटकबाट भएकाले योसँगको लगाव केही फरक चाहिँ छ,’ उनी भन्छन्, ‘नाटकले नै मलाई क्यामेरा देखाएको हो । यदि नाटक हुन्न थियो भने म क्यामेरा अगाडि पनि हुँदैन थिएँ होला । त्यसैले फिल्मप्रति पनि मेरो उत्तिकै सम्मान र माया छ ।’
‘सतीदेवी’ अभिनेत्री मालिका महत पनि ‘पगला घोडा’मा मुख्य भूमिकामा देखिँदैछिन् । उनको यो डेब्यू नाटक हो । पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाहरुको सङ्ख्या बढिरहेको अवस्थामा नाटकले यही संवेदनशील विषयलाई प्रस्तुत गर्न लागेको हो । घनश्याम श्रेष्ठको निर्देशन रहेको नाटकमा आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी आदिको पनि अभिनय रहनेछ ।