सुपरस्टारद्वय दयाहाङ राई र आर्यन सिग्देलले तेस्रोपटक एकसाथ काम गर्न लागेको फिल्म ‘गाउँ नै रमाइलो’लाई आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गरिने भएको छ । मंगलबार निर्माता हिमाल कडरियाले आरआर फिल्म्ससँग फिल्म वितरणसम्बन्धी सम्झौता गरेपछि आगामी दशैंलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने निश्चित भैसकेको छ ।
विकास सुवेदीको लेखन रहेको फिल्म गाउँको कथामा केन्द्रित भएर बन्न लागेको हो । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ र आर्यनबाहेक अरु कलाकारको टुंगो लागेको छैन । स्रोतका अनुसार, फिल्ममा तीनजना नायक रहनेछन् । अर्को नायकमा पनि स्टार नै भित्राउने तयारीमा निर्माण टिम छ । यस वर्षको अन्त्यबाट फिल्मको छायांकन गरिने जनाइएको छ ।
निर्देशक राउतले ‘गाउँ नै रमाइलो’भन्दा अगाडि आफ्नो नयाँ फिल्म ‘पूजार सार्की’को छायांकन पूरा गर्नेछन् । आगामी माघ पहिलो साताबाट छायांकन गर्न लागिएको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकसाथ देखिने तयारीमा छन् । यीसँगै निर्देशक राउतको पाइपलाइनमा अरु फिल्म पनि छन् । ‘प्रसाद’ र ‘प्रकाश’ले उनको निर्देशकीय कद उँचो बनाएको छ ।