मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म उद्योग मेरो पहिचान हो, छाड्न सक्दिनँ : रोज राणा

फिल्मीखबर, काठमाडौं, 2023/12/27

rose rana

 

सफल निर्माताको रुपमा चिनिएका रोज राणा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्री बनेका छन् । नेपाली फिल्मकर्मी मन्त्री भएको यो पहिलोपटक हो । यसैले उनी मन्त्री भएकोमा फिल्म क्षेत्र हर्षित देखिन्छ । तर, नग्न डान्सबार चलाएर मानव बेचबिखनको मुद्धामा पक्राउ परेको व्यक्तिलाई मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ ।

यसबीच, एक टीभी अन्तर्वार्तामा उनले त्यसबेला आफूलाई प्रहरीको एउटा खेमाले आरोप लगाएको भए पनि आफूले नग्न डान्सबार नचलाएको दाबी गरेका छन् । उनी भन्छन्, ‘मैले नग्न डान्सबार कहाँ चलाएँ ? प्रहरीको एउटा खेमाले आरोप लगाएपछि कानुनलाई सघाउँछु भनेर मैले आत्मसमर्पण गरेको थिएँ । जब अदालतले मलाई सफाई दिइसकेपछि नग्न डान्सबार चलायो भन्ने अरु को हो ?’

उनले राजनीतिमा सक्रिय भए पनि आफू फिल्मकर्मी नै रहेको र फिल्म क्षेत्र छाड्न नसक्ने बताएका छन् । चाँडै फिल्म ‘खलनायक २’ बनाउने तयारी भैरहेको समेत उनको भनाई छ । ‘म अहिले पनि फिल्मकर्मी नै हो । मेरो ‘खलनायक २’ भन्ने फिल्मको सबै चीज तयार छ । मौनता श्रेष्ठले स्क्रिप्ट लेखिरहेका छन्,’ राणाले भनेका छन्, ‘फिल्म उद्योग त मेरो पहिचान हो, यसलाई छाड्न सक्दिनँ ।’

कुनै बेला उनले चल्तीका नायकहरुलाई धम्काएर फिल्म खेलाएको आरोप समेत लाग्ने गरेको छ । यस विषयमा पनि उनले खण्डन गर्दै भनेका छन्, ‘त्यसबेलाका चलेका नायकहरु राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीले मसँग काम गर्नुभएको छ । उहाँहरु अहिले पनि फिल्म बनाउनु पर्‍यो, तपाईंले राम्रो फिल्म बनाउनुहुन्छ भनेर भन्नुहुन्छ । अहिले पनि उहाँहरु मेरो सम्पर्कमा हुनुहुन्छ ।’