कुनै बेला नेपाली फिल्ममा गर्विलो उपस्थिति जनाएकी अभिनेत्री विपना थापा विवाह बन्धनमा बाँधिएर सन्तान भएपछि अभिनयबाट टाढा रहँदै आएकी थिइन् । उनले राम्रो फिल्मबाट कमब्याक गर्ने चाहना व्यक्त गरिरहेको भए पनि त्यो सम्भव हुन सकेको थिएन । अन्ततः करिब १३ वर्षपछि उनी फिल्ममा फर्किएकी छन् । फिल्म ‘ह्रस्व दीर्घ’बाट विपनाको कमब्याक सपना साकार भएको हो ।
मंगलबारबाट उनी फिल्मको सुटिङमा जोडिसकेकी छन् । १३ वर्षपछि सुटिङमा फर्किँदा उनलाई एकखालको डर महसुस भएको थियो । सुटिङ सेटबाट जारी एक भिडियोमा उनले भनेकी छन्, ‘सुटिङको पहिलो दिन भएकाले डर लागिरहेको छ । केही फरक महसुस भैरहेको छ । पहिलो फिल्म ‘जन्मभूमि’मा काम गर्ने बेलाको महसुस गरिरहेकी छु । कसरी गर्ने र के गर्ने भन्ने भैरहेको छ ।’
विपनालाई फिल्ममा पहिलो दिनको सुटिङका लागि बिहान ७ बजेदेखि मेकअप समय दिइएको थियो । तर, उनी बिहान ४ बजे नै उठेर तयार भैसकेकी थिइन् । ‘काम गर्न सक्छु कि सक्दिनँ’ भन्ने छटपटी र डरले उनलाई रातभर निन्द्रा परेको थिएन । जब सेटमा पुगेर मेकअप गर्न थालिन् तब उनले आफैंलाई सम्हाल्न सकिनन् । उनका आँखा आँसुले भरिए । उनको त्यो आँसु खुसीको थियो ।
‘ह्रस्व दीर्घ’को स्क्रिप्ट नै नसुनी काम गर्न तयार भएको उनी सम्झन्छिन् । ‘धेरै अगाडिदेखि मलाई फिल्ममा काम गर्न मन लागिरहेको थियो । राम्रो फिल्मबाट प्रस्ताव आए गर्छु भनेरै बसिरहेको थिएँ,’ उनी भन्छिन्, ‘नीता ढुंगाना (फिल्मकी निर्मात्री तथा अभिनेत्री)ले राम्रो क्यारेक्टर छ भनेपछि मैले स्टोरी नै नसुनी गर्छु भनेकी थिएँ ।’ विपना र नीताले यसअघि फिल्म ‘मितिनी’मा काम गरेका थिए ।