अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । मंगलबारसम्म प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ९० जनाले नाम टिपाएका थिए । शाहले बुधबार अन्तिम दिन मात्र आफ्नो नाम टिपाएका हुन् । उनीसहित बागमती प्रदेशबाट ९१ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ ।
अभिनेता शाहले अन्तिम दिन आफ्नो नाम टिपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले नाम टिपाउनुभन्दा अघि पार्टीका केही शीर्षस्थ नेताहरुसँग भेट गरेको जानकारी प्राप्त छ । र, नेताहरुबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने वचन पाएपछि उनले नेपाली कांग्रेस बागमती प्रदेश समितिमा नाम टिपाएका हुन् । राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
त्यसो त २०७८ सालमा पनि कांग्रेसबाट उनी राष्ट्रिय सभा सदस्य बन्ने चर्चा थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक पदमा उनलाई पठाउन कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले नै इच्छा देखाएका थिए । तर, पछि नारायणप्रसाद दाहाल मनोनित भए । यसपटक भने नीर शाहको सम्भावना बलियो देखिएको छ । उनले धेरै फिल्मकर्मीलाई कांग्रेस प्रवेश गराएका छन् ।