चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको लाइनअप शक्तिशाली देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको ‘पल्टन’ छ ।
यसबीच, फिल्ममा अर्का साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेका छन् ।
अहिले चितवनस्थित सौराहामा फिल्मको दोस्रो चरणको छायांकन भैरहेको छ । कबीर र ‘गजनी’ भिलेन प्रदीप रावत केही दिनमा छायांकनका लागि नेपाल आउने जानकारी प्राप्त छ । फिल्मको पहिलो चरणको छायांकन भने भारतस्थित रामोजी फिल्म सिटीमा भएको थियो । अब नेपालमा एक महिना फिल्मको छायांकन हुने जनाइएको छ । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।
फिल्मलाई भारतका विभिन्न भाषामा स्वरांकन गराउने तयारीमा निर्माण टिम छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र फिल्म रिलिज हुनेछ । ‘ह्रस्व दीर्घ’लाई भारतका छायाँकार कवीरलालले खिचिरहेका छन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता सफल हिन्दी फिल्म छायांकन गरिसकेका छन् । फिल्मलाई अर्को वर्षको अन्त्यतिर हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।