अहिलेका चल्तीका अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्कालाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । दुवैको करिअरको ग्राफ लगभग समान छ । फ्यान ‘क्रेज’ टक्करको छ । फिल्मको ‘प्याटन’ पनि दुवैको एकै किसिमको छ । यसैले उनीहरुबीच अघोषित प्रतिस्पर्धाको स्थिति देखिन्छ । अब पहिलोपटक उनीहरुको फिल्म पनि घरेलू बक्स अफिसमा प्रतिस्पर्धी बन्ने सम्भावना बढेको छ ।
आगामी जेठ ११ गते अनमोल अभिनीत फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउँदैछ । अहिलेसम्मलाई यो मितिमा अरु फिल्म थुप्रिएका छैनन् । तर, प्रदीपको अभिनय रहने फिल्म ‘पूजार सार्की’ जेठ ११ गते आउने सम्भावना प्रवल छ । यद्यपि, फिल्मको प्रदर्शन मिति घोषणा गरिसकिएको छैन । छायांकन पनि सुरु भएको छैन । तर, प्रदर्शनका लागि जेठ ११ गतेकै तयारी भैरहेको स्रोत बताउँछ ।
‘पूजार सार्की’को आगामी माघ पहिलो साताबाट छायांकन सुरु हुँदैछ । राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीपसँगै आर्यन सिग्देल र पल शाह पनि मुख्य भूमिकामा देखिँदैछन् । स्टारकास्टकै कारण सर्वाधिक चर्चामा रहेको यो फिल्मले प्रदर्शनका लागि जेठ ११ गतेको मिति निश्चित गरेको अवस्थामा ‘फर्की फर्की’ले बक्स अफिसमा ठूलो चुनौतीको सामना गर्नुपर्नेछ ।
‘फर्की फर्की’सँग ‘पूजार सार्की’ भिडाउने रणनीति बन्नुमा निर्देशक राउत र ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीबीचको टसल प्रमुख कारण हुनसक्छ । रोहितको फिल्म ‘छब्बीस करोड’लाई राउतले निर्देशन गर्दै थिए । तर, उनीहरुबीच सृजनात्मक मतभेद भएपछि राउतले फिल्म छाडिदिए । उनीहरुबीचकै टसलले ‘फर्की फर्की’सँग ‘पूजार सार्की’लाई भिडाउने तयारी भैरहेको चर्चा छ ।