‘प्रेम दिवस’ निर्माता सञ्जय न्यौपाने ‘रक्तबीज’बाट फिल्म निर्माणमा फर्किने भएका छन् । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । निर्देशकको टुंगो लाग्न बाँकी रहेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरी अनुबन्ध भैसकेका छन् । निर्माता न्यौपानेले फिल्मको लेखकमा शुक्रबार प्रदीप भारद्वाजसँग सम्झौता गरेका छन् ।
अर्को वर्षको असोजबाट फिल्मको छायांकन सुरु गरिने निर्माता न्यौपानेले जानकारी दिए । सञ्जय न्यौपाने प्रडक्सनको प्रस्तुति रहने फिल्ममा एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माता खतिवडाले स्क्रिप्ट राम्रो भएकाले लगानी गर्न तयार भएको बताएका छन् । निर्माता न्यौपानेले भने केही दिनमा नै निर्देशकको टुंगो लाग्ने बताए ।
डार्क एक्सन जनरामा निर्माण हुने फिल्ममा सौरभ लामाको छायांकन रहनेछ । फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको पर्यटकीय क्षेत्र इलाम र झापामा गरिने जनाइएको छ । सौगातलाई लेखक भारद्वाजले केही समय अगाडि नै फिल्मको कथा सुनाएका थिए । सौगातलाई त्यसैबेला कथा र आफ्नो चरित्र मन परेको थियो । फिल्ममा उनी एक्सन भूमिकामा देखिन सक्ने संकेत शीर्षकले गर्छ ।