अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘मायाका रंगहरु’मा भोजपुरी अभिनेता कुन्दन भारद्वाजको प्रवेश भएको छ । केही दिनअघि पल र कुन्दन दुवैसँग निर्देशक तथा निर्माता केवल तामाङले एकसाथ सम्झौता गरेका हुन् । यसअघि नेपाली फिल्म ‘देव वाणी’मा मुख्य भूमिकामा काम गरिसकेका कुन्दनसँग भोजपुरी र बलिउड फिल्मसँगै सिरियलमा समेत काम गरेको अनुभव छ ।
नेपाली र हिन्दी भाषामा बन्न लागेको फिल्मको छायांकन आगामी फागुन अन्तिम साताबाट भारतको सिक्किममा हुने जनाइएको छ । प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सिक्किमसँगै दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहेको फिल्म लभस्टोरी कथामा बन्न लागेको हो । फिल्मका लागि अभिनेत्रीको भने टुंगो लाग्न बाँकी छ ।
जेनिश न्यौपाने सह-निर्माता रहेको फिल्ममा सौरभ लामाको छायांकन, शेखर ज्ञावालीको लेखन, ताराप्रकाश लिम्बू, दीपक शर्मा र उर्गेन दोङको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको नृत्य निर्देशन रहनेछ भने लाइन प्रोडुसरमा पदम तामाङ (नेपाल), टीकाराम अधिकारी (सिक्किम) र सुवास क्षेत्री (दार्जिलिङ) छन् । पलले माघमा फिल्म ‘पूजार सार्की’मा काम गर्दैछन् ।