‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘दिमाग खराब’ले हलमा प्रदर्शनको ५१औं दिने दुर्लभ रेकर्ड बनाएको छ । गत कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार न्यूरोडमा अवस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । सोही हलमा शनिबार दिउँसो फिल्मको टिमले केक काटेर सफलताको खुसी साटेको छ ।
फिल्मले प्रदर्शनको ५१औं दिने रेकर्ड बनाएको अवसरमा निश्चलले सिक्वेल निर्माणको समेत घोषणा गरेका छन् । उनले कार्यक्रममा भने- ‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ । ‘दिमाग खराब’को सिक्वेल आउँछ । २०८३ सालको दशैंमा सिक्वेल आउँछ । यो फिल्मबाट हामीले जे चीज भन्न खोजेका छौं, सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ ।’
अभिनेता खगेन्द्र लामिछानेले पहिलोपटक आफ्नो फिल्मले ५१औं दिन मनाएकोमा खुसी व्यक्त गरे । दयाहाङ राईको भने यस वर्ष ५१औं दिन मनाउने ‘दिमाग खराब’ दोस्रो फिल्म हो । गत बैशाखमा ‘जारी’ले पनि यो रेकर्ड बनाएको थियो । यसअर्थ आफ्नो लागि यस वर्ष राम्रो रहेको उनको मूल्यांकन छ । अभिनेत्री स्वस्तिमा खड्का पनि फिल्मले ५१औं दिन मनाउँदा हर्षित देखिएकी थिइन् ।
प्रदर्शनको दुई दिन फिल्मको व्यापार दयनीय थियो । राम्रो ‘वर्ड अफ माउथ’ मिलेपछि तिहार विदामा फिल्मको व्यापारमा उछाल आएको थियो । प्रदर्शनको ५१औं दिनसम्ममा फिल्मले घरेलू बजारमा १० करोड हाराहारी कमाई गरेको जनाइएको छ । यतिबेला अष्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशहरुमा प्रदर्शन भइरहेको यो फिल्मलाई कतिपयले ‘मिसन ८४’को समेत संज्ञा दिएका छन् ।