कोरोना महामारीपछि नेपाली फिल्मका धेरै कलाकारहरुले वैकल्पिक पेशाको रुपमा विभिन्न व्यवसाय सुरु गरेका छन् । प्रायःको रोजाईमा भने रेस्टुरेन्ट व्यवसाय परेको छ । यसबीच, नयाँ छिमलका चल्तीका अभिनेता प्रदीप खड्का पनि रेस्टुरेन्ट मालिक बनेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौंस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन् ।
रेस्टुरेन्ट सञ्चालनमा आएसँगै ‘न्यू इयर इभ २०२४’ कार्यक्रम गरिएको छ । आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा प्रदीपले फ्यानहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने जनाइएको छ । नयाँ वर्षलाई लक्षित गरेर रेस्टुरेन्टले फ्रि–वेलकम ड्रिङ्क्स तथा लाइभ म्युजिकको व्यवस्था गरेको छ भने विभिन्न परिकारहरुमा विशेष छुट समेत राखिएको छ । उक्त रेस्टुरेन्ट नीलसरस्वती मार्गमा छ ।
अब फिल्मसँगै व्यवसायलाई पनि एकसाथ लैजाने प्रदीपको योजना छ । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि छन् । फिल्मको कुरा गर्दा प्रदीप आगामी माघबाट ‘पूजार सार्की’को छायांकनमा जोडिँदैछन् । यसमा उनीसँगै आर्यन सिग्देल र पल शाह पनि छन् । आगामी वर्ष उनले ‘ऐरी’ र ‘एक्टर’मा काम गर्नेछन् । ‘ऐरी’ भारतीय भाषामा बन्न लागेको फिल्म हो ।