अभिनेता सौगात मल्ल आफ्ना फिल्मको प्रचारमा उत्तिधेरै मिहिनेत गर्दैनन् । फिल्मका एकाध कार्यक्रम र मिडिया भेटघाटमा मात्र उनी सीमित रहन्छन् । तर, आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारका लागि भने उनी महोत्सव समेत धाइरहेका छन् । फिल्मको मुनाफाको हिस्सेदारीमा रहेकाले उनी फिल्मको प्रचारमा गम्भीर देखिएको बताइन्छ ।
सौगातले यसै साता नेपालगञ्ज, कैलालीको लम्की र बर्दियाको गुलरियामा गरी तीनवटा महोत्सवमा फिल्मको प्रचार गरेका छन् । ती महोत्सवमा उनलाई हेर्नेको भीड उल्लेख्य देखिएको थियो । र, उनले दर्शकलाई केही चोटिला संवाद सुनाएर फिल्म हेर्न निम्तो दिए । सौगातको साथमा फिल्मका प्रस्तुतकर्ता किरण नेपाली र कलाकार कमलमणी नेपाल पनि महोत्सवहरुमा सहभागी भएका थिए ।
महोत्सवमा फिल्मप्रति दर्शकको उत्साह देखिएको प्रस्तुतकर्ता नेपाली बताउँछन् । उनी भन्छन्, ‘फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित रहेको पायौं । यसले हामीलाई पनि खुशी बनाएको छ । हामी फिल्मको बारेमा जानकारी दिन पश्चिमदेखि पूर्वसम्म पुग्नेछौं ।’ सोमबारबाट अभिनेत्री उपासना सिंह ठकुरी र कलाकार बुद्दि तामाङ पनि दाङ जिल्ला पुगेर फिल्मको प्रचारमा जोडिएका छन् ।
सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, बेनिशा हमाल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटालगायतको पनि अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर तथा आशिष मगरको संगीत रहेको छ ।