सफल फ्रेन्चाइज ‘जात्रा’को तेस्रो सिक्वेल ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गरिएको छ । पोस्टरमा फिल्मका तीन मुख्य कलाकार विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाले हरिवंश आचार्यलाई ह्विलचियरमा राखेर बाँधेको अवस्थामा चित्रण गरिएको छ । हरिवंशको ‘इन्टेन्स लुक’ र गेटअप हेर्दा उनी नेताको भूमिकामा हुनसक्ने देखिन्छ ।
पैसा छरपस्ट देखिएको पोस्टरको पृष्ठभूमिमा एक गाडी (छोटा हात्ती) पनि छ । यसले फिल्म पैसाको चलखेलको विषयमा केन्द्रित रहेको संकेत गर्छ । त्यसो त ‘जात्रा’का अघिल्ला दुई श्रृंखला सुन र पैसाकै विषयमा केन्द्रित भएर बनेका थिए । यसपटक पैसासँगै राजनीतिलाई समेत जोडिएको पोस्टरबाट आँकलन गर्न सकिन्छ । फिल्म आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेल, शिशिर बाङ्देल, दिव्यदेव, गौमाया गुरुङ, सुमन कार्कीलगायतको पनि अभिनय छ । फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता तथा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्मातामा छन् । ‘जात्रा’ श्रृंखलामा पहिलोपटक हरिवंश आचार्य भित्रिएकाले उनको भूमिकाप्रति धेरैमा चासो छ ।